फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा विद्यार्थीमाथि कुटपिट भएकाे छ।
झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्।
कमल-५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुन्।
फेसबुकको कमेन्ट निहुँमा प्रअ बगालेले मंगलबार दिउँसो कार्यालयमा लगेर निलडाम हुने गरी कुटपिट गरेकाे टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र तिवारीले बताए।
पानीको पाइपले हिर्काउँदा ती विद्यार्थीको दुवै खुट्टामा निलडाम देखिएको र उनलाई उपचारका लागि परिवारले दमक लगेको उनको भनाई छ। प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरी अब उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउँदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए।
टोल विकास संस्थाका अध्यक्ष तिवारीले फेसबुककै निहुँमा विद्यार्थीमाथि यस किसिमको कारबाही स्वाभाविक नभएको बताउँछन्। प्रअ बगाले मंगलमय माविमा सञ्चालित एसईई परीक्षा केन्द्रका सुपरिटेन्डेन्टसमेत हुन्। प्रअ बगालेमाथि अविलम्ब कारवाही हुनुपर्ने तिवारीकाे भनाई छ।
छात्रा विद्यार्थी बाँस्कोटामाथि कुटपिट सामाजिक सञ्जालमा आएपछि प्रअ बगालेलाई कारबाही गर्न चौतर्फी माग उठेको छ।
कमल-५ का वडाध्यक्ष लालबहादुर विष्टका अनुसार प्रअ बगालेले विद्यार्थी कुटपिट गरेको घटना चौतर्फी सार्वजनिक भएपछि पालिकाको शिक्षा समितिको अहिले आकस्मिक बैठक बसेकाे छ।
महिना दिनअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको यस पालिकाको उत्कृष्ट मानिने सो विद्यालयका प्रअ बगालेको यस्तो हर्कतले सिंगो बालमैत्री अवधारणालाई लज्जित बनाएको बाल सञ्जालका अगुवाहरुले बताएका छन्।