सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेसम्मका लागि स्थगित गरिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक २ घण्टा पछि सारिएको हो।
प्रदेशसभा सचिवालयका अनुसार बिहीबार साँझ ५ बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको हो।
नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो।
अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ।
उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ। राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको मत हासिल गर्ने प्रयासमा मुख्यमन्त्री शाह रहेका छन्।
यद्यपि, सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना कम देखिएको छ।
सुदूरपश्चिममा नेकपा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन्।