राष्ट्रियसभाको बैठक: उपाध्यक्षका लागि निर्वाचन हुँदै

राष्ट्रियसभाकाे उपाध्यक्ष पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे १ : १५ बजे बस्ने बैठकमा निर्वाचन कार्यसूची रहेकाे छ।

त्यसका लागि माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छिन्।

भने, माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य विमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छिन्।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

त्यसअघि राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने कार्यसूची पनि रहेकाे छ।

प्रकाशित मिति: : 2024-04-10 07:22:00

प्रतिकृया दिनुहोस्