सहकारी प्रकरणमा रवि लामिछाने: २ करोड ऋण लिएको पुष्टि, अभियोग लागेन

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा उक्त रकम रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत १ मा गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ग्लोबल आई.एम.ई बैंक लि.को खातामा सेवा शुल्कबापत ४ लाख कट्टी गरी संस्थाले १ करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ।

सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ। तर, अभियोगपत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन। प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्‍याएर ऋण लिएको उल्लेख गरेको छ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवम् पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन्। पाँच जनाबाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ। सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।

प्रकाशित मिति: : 2024-04-16 10:05:00

प्रतिकृया दिनुहोस्