सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन्।
यादवको गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए।
केन्द्रीय अनुसन्धान ब्यूरो, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरसमेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।