सुनकोशी नदीबीचमा थुनिए ३३ जना विद्यार्थी–शिक्षक, उद्धारका लागि आग्रह

सिन्धुलीमा रहेको एक गुरुकुलका ३३ जना विद्यार्थी–शिक्षक सुनकोशी नदीबीचमा फसेका छन्। सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका हुन्।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी नदीले मन्दिरको दुवैतिरबाट घेरेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए।

अहिले (बिहान १० बजे) विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन्। तल्लो तहमा नदीले  डुबाइसकेको छ। उनीहरूको उद्धारका लागि कतै सम्पर्क हुन सकेको छैन। 

उनीहरूले उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गरेका छन्।

प्रकाशित मिति: : 2024-09-28 10:56:00

प्रतिकृया दिनुहोस्