राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्रै बैठक गरेकाे छ।
साेमबार कास्की प्रहरीको हिरासतभित्रै सभापति लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाबीच आधा घण्टा बैठक बसेकाे केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छन्।
सङ्ग्रौलाले रास्वपा आन्तरिक रणनीतिमा अगाडि बढेकाे बताएकी छन्।
हिरासतमा बैठक सकेर बाहिरिँदै गर्दा पार्टी प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई हिरासतमै राखेर छानबिन गर्नुपर्ने पर्याप्त आधारहरू नभएकाे दाबी गरे।
‘हिरासतमा अनावश्यक रूपमा राज्यकाे दम्भ र प्रतिशोध साँधेको कारणले राखिएकाे छ। यसलाई कानुनी दायरा मान्दैनाैँ हामी। हिरासतमै राखेर छानबिन गर्नुपर्ने पर्याप्त आधारहरू देखिँदैन’, झाले भने।
साथै उनले लोकतन्त्रको आडमा सरकारले अधिनायकवादी चरित्र देखाएको आराेप लगाए।
प्रवक्ता झाले सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर पर्सि अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए।
यसैगरी उपसभापति वाग्लले राजनीतिक प्रतिशोध साँध्नकै लागि नै सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताए।
‘हामीले न्यायिक अनुसन्धानहरूको कहिले पनि विरोध गरेका छैनौं। हामी बहुलवादी लाेकतान्त्रिक शक्ति हाैँ। हाम्रो विधिको शासनमा पूर्ण अटल आस्था पनि छ।’ कहीँ कमी कमजाेरी रहेछ भने यसलाई यही विधिकै शासनमा टेकेर, माैजुदा संवैधानिक प्रावधानमा टेकेर सुधार्दै जानेछाैँ’, उनले भने।