दलाई लामाका ‘उत्तराधिकारी’ घोषणा, चीनले के भन्यो?

Break n Links
Break n Links

भारतमा निर्वासित जीवन बिताइरहेका धर्मगुरु दलाई लामाले आफ्नो मृत्युपछि पनि उत्तराधिकारी चुनिने र आफू नै तिब्बतको अन्तिम नेता नभएको प्रस्ट पारेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै तरिकाले तिब्बतमा ‘दलाई लामा’ बनाउने तयारी गरिरहेका बेला उनको यस्तो भनाइ आएको हो। 

हाल उनले आश्रय लिइरहेको भारतस्थित धर्मशालामा दलाई लामाको ९० औं जन्मोत्सवको तयारी चलिहरेको छ। यही तिब्बतियन बौद्ध क्यालेन्डरअनुसार सोमबार नै उनी ९१ वर्षमा प्रवेश गरिसकेका छन्। तर यो जन्मोत्सवलाई निकै भव्य बनाउन साताब्यापी कार्यक्रम आयोजना गरिएको छ। 

पहिला नै रेकर्ड गरेको एउटा भिडिओ सन्देश भने बुधबारमात्रै सार्वजनिक भयो। 

‘भविष्यमा मेरो (दलाई लामा)को पुनरावतार (उत्तराधिकारी) छान्ने अधिकार गादेन फोड्राङ ट्रस्टलाई मात्रै छ’ उनले भनेका छन् ‘मेरो मृत्युपछि पनि यो परम्परा जारी रहनेछ।’ त्यो ट्रस्ट भनेको उनी आफैले स्थापना गरेको बौद्ध धर्म प्रवर्द्धन संस्था हो। यो ६०० वर्षभन्दा पुरानो परम्परालाई कसैले पनि तोड्न नसक्ने पनि उनले बताएका छन्। 

हाल तिब्बतमा चीनले नै शासन गर्दै आएको छ। दलाई लामा भनेको बौद्ध धर्ममा एउटा सर्वोच्च पद हो। जसलाई भगवान गौतम वुद्धकै अवतारका रुपमा लिइन्छ। 

तर यी लामा र उनका हजारौं अनुयायीहरूले भनेका तिब्बतलाई छुट्टै राष्ट्र ठान्छन्। केही समयअघि उनले आफ्नो उत्तराधिकारी ‘चीनभन्दा बाहिरै’बाट छानिने बताएका थिए। अहिले आफ्नो शासनमा तिब्बती जनताको जीवनस्तर निधै सुधाधिएको चीन सरकारले बताउँदै आएको छ। निर्वासित यी दलाई लामालाई भने चीनले पृथकतावादी ठान्छ। यी १४औं दलाई लामा हुन्। 

चीनको प्रतिक्रिया
दलाई लामाको यो अभिव्यक्तिपछि चीनले पनि दलाई लामा छान्ने आफ्नै प्रणाली रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार त्यो भनेको ‘चिठ्ठा प्रणाली’ हो। 

यो प्रक्रियाअन्तर्गत दलाई लामाको उत्तराधिकारी बन्न योग्य ठानिएका केही व्यक्तिहरूको नाम लेखिएको ससाना पर्चीहरू सुनको कलशमा राखिन्छ। अनि त्यहाँबाट एउटा पर्ची निकाल्दा जसको नाम आउँछ उही नै दलाई लामा हुने चलन छ। 
सन् १९७२ बाट यो परम्परा सुरु भएको थियो। पूर्व चीनमा यही प्रक्रियाअन्तर्गत ३ जना दलाई लामाहरू चुनिइसकेका छन्। 

तर हालका दलाई लामा भने त्यसरी चुनिएका होइनन्। चीनका लागि अनुसार यो तिब्बती बौद्ध परम्पराको एक विशिष्ट रुप हो। र चीन सरकारले अपनाएको धार्मिक स्वतन्त्रता नीति अन्तर्गत नै पर्छ। 

को हुन् दलाई लामा, कसरी चुनिए?
अहिलेका १४औँ दलाई लामाको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो। उनको नाम ल्हामो धोन्दुप थियो। उनी दुई वर्षको हुँदा दलाई लामा पहिचान गर्ने बौद्ध अधिकारीहरूको टोलीले उनलाई विगतका १३ दलाई लामाका पुनरअवतार भएको ठम्याएका थिए।

उनको आधिकारीक जीवनीअनुसार पूर्ववर्ती दलाई लामाहरूका सामान उनलाई देखाउँदा उनले चिनेपछि प्रमाण पुगेको थियो। ती बालकले १३औँ दलाई लामाका व्यक्तिगत सामान देखाउँदा 'मेरो हो, मेरो हो' भनेका थिए।
चार वर्ष पुग्नु अगावै दलाई लामाको मान्यता पाएका उनको शिक्षादीक्षा एक तिब्बती गुम्बामा भयो। बौद्ध दर्शनशास्त्रमा उनले विद्यावारिधि गरेका छन्।
सन् १९५० मा जब उनी १५ वर्ष उमेरका थिए त्यो बेला माओत्से तुङ् नेतृत्वको नयाँ चिनियाँ कम्युनिस्ट सरकारले तिब्बतमा सेना पठायो। एक वर्षपछि चीनले तिब्बतलाई गाभ्ने उसको कामलाई वैधानिकता दिने गरी १७ बुँदे सहमति बनायो।

सन् १९५९ मा चिनियाँ शासनको अन्त्यको माग गर्दै भएको तिब्बती विद्रोहको दमन भयो र हजारौँ विरोधीहरू मारिए।
दलाई लामा आफ्ना १०,००० अनुयायीका साथ हिँडेरै भारततर्फ भागे। उनी धर्मशालामा बसे र त्यहीँबाट निर्वासित सरकारको सञ्चालन गर्न थाले। सन् २०११ मा उनले आफ्नो राजनीतिक भूमिका त्यागे तर तिब्बती बौद्धमार्गको उच्च आध्यात्मिक गुरुका रूपमा भने रहिरहे।

बिबिसीकाे सहयाेगमा

प्रकाशित मिति: : 2025-07-02 16:01:00

प्रतिकृया दिनुहोस्