दुर्घटनामा मृत्यु भएका पत्रकार गेलाङ्को अन्त्येष्टि

तस्बिरः बिएल

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङ्को मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ ।  

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नं को टिपरले भे ८ प ७६०४ नं को मोटरसाइकलमा सवार पत्रकार गेलाङ्लाई बिहान ११:४५ बजे टिपरले ठक्कर दिँदा उहाँको घटनास्थलमै ज्यान गएको थियो। घटनापश्चात मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राखेर शव बुझ्न मानेका थिएनन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सरोकाकारवालाबाट क्षतिपूर्तिका लागि पहल तथा सिफारिस गर्ने सहमति भएसँगै परिवार तथा आफन्तले शव बुझेका थिए । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय पत्रकार गेलाङ्को पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका–७ सुर्खेत निवासी पत्रकार गेलाङ्का एक छोरा, एक छोरी र श्रीमती छन्।

प्रकाशित मिति: : 2019-06-15 15:18:47

प्रतिकृया दिनुहोस्