छाँयानाथको ‘माथि बालै’ गाउँमा पहिलोपटक गाडी पुगेपछि…
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन्। गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन्। सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो। वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ। छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो। बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए।
बिएल संवाददाता - मुगु