सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई पनि छैन्: रक्षामन्त्री

फाइल तस्बिर: बिएल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई पनि नहुने स्पष्ट पारेका छन्।

सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित सामाजिक सुरक्षा दिवसको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले श्रमिक र रोजगारदाताले यसमा आवद्ध भएर दायित्व पूरा गर्नुपर्ने बताए।

श्रमिक र रोजगारदाताले दायित्व पूरा गर्नुपर्ने र सरकारले अभिभावकत्व ग्रहण गर्ने उनले बताए। उपप्रधानमन्त्री पोखरेलले सामाजिक सुरक्षा योजना नयाँ भएकाले केही व्यवहारिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गर्दै जानुपर्ने धारणा पनि राखे। उनले देशका जनशक्तिहरु स्वदेशमा नै परिचालन गर्नका लागि सरकारले उचित कार्यक्रम ल्याउने बताए। विदेशीन बाध्य रहेका नेपाली युवाहरुको उचित परिचालन स्वदेशमा नै गर्न उद्योगमैत्री वातावरण पनि बन्दै गएको उनले बताए।

कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आवद्धता निराशाजनक रहेको बताएका थिए। गत वर्ष सुरु भएको सामाजिक सुुरक्षा योजनामा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १५ हजार श्रमिक आवद्ध भएका छन्।

प्रकाशित मिति: : 2019-11-27 16:20:08

प्रतिकृया दिनुहोस्