फेसबुकमा गरिने बिज्ञापनबाट नेपालमा पैसा आउँछ कि बाहिर जान्छ ?

फेसबुकमा प्रायोजित विज्ञापन एक प्रतिकात्मक तस्बिर ।
हिजोआज फेसबुकमा हामीले लाइक नगरेको मात्र हैन, कहिल्यै नदेखेका पेजमा भएका सामग्री पनि देख्ने गरेका छौं । यस्ता सामग्री कि त तपाईंको फेसबुककमा साथी भएको व्यक्तिले सेयर गरेको वा तपाईं आबध्द हुनु भएको फेसबुक समुहमा कसैले राखेको हुन सक्छ । कि त कसैले बुस्ट वा प्रमोसन गरेको हुनुपर्छ ।

बुस्ट वा प्रमोशन फेसबुकलाई पैसा तिरेर बस्तु, सेवा वा उत्पादनको प्रवर्द्धन गरिने एक किसिमको बिज्ञापन शैली हो । समय प्रबिधिमैत्री बन्दै गैरहेको परिप्रेक्ष्यमा आफ्ना उत्पादन, सेवा, वस्तुको बारेमा उपभोक्तासम्म छिटो पुग्न यो प्रबिधि उत्पादकको लागि निकै सरल, सहज र सस्तो छ । यसै कारण हिजोआज ससाना कयाफे, रेस्टुराँ, किराना पसलदेखि माइक्रोसफ्ट, अम्याजन, ईबेजस्ता ठूलठूला बहुराष्ट्रिय कम्पनी पनि फेसबुक एड, युगल एडसेन्सजस्ता सामाजिक सञ्जालमा आधारित डिजिटल विज्ञापन गरिरहेका छन् ।

इन्टरनेटमार्फत बिज्ञापनको सुरुवात सर्च ईन्जिन गुगलले संन २००३ बाट गरेको हो । यसैगरी सामाजिक सञ्जालमा आधारित विज्ञापन फेसबुकले सनं २००७ नोभेम्वर ६ देखि शुरू गरेको हो । सुरुसुरुका दिनमा यस्ता बिज्ञापन देखिए पनि नेपालीका लागि खासै चासो हुदैन थियो बरु आफै वेबसाइट बनाएर त्यसमा गुगलका बिज्ञापन राखि आम्दानी गर्ने केही नेपाली भने पहिलेदेखि नै थिए र छन् । केही बर्षयता युट्युबमा गुगल एडसेन्सका बिज्ञापन राखि मनग्य पैसा कमाइरहेका नेपालीको संख्या पनि ठूलै छ ।

तर, अब परिस्थिति उल्टिएको छ । अब अरुका बिज्ञापन देखाउने नभई आफै बिज्ञापन गर्ने क्रम नेपालीमा पनि बढी देखिएको छ । फेसबुकमा सानो अक्षरमा स्पोन्सर भनेर देखिने सामग्री प्रचारको लागि फेसबुकलाई पैसा तिरिकन देखाइएका हुन् । यस्तै युट्युबमा भिडियो बज्दा स्किप गर्न मिल्ने वा नमिल्ने बिज्ञान, बम्पर एड, आभरलेए एड, ब्यानर एड तथा अन्य वेबसाइट हेर्दा पनि कुनामा सानो त्रिभुज आकारमा एडच्वाईस लेखिएका सामग्री बिज्ञापन हुन् ।

यस्ता बिज्ञापन नेपालमा सबैभन्दा बढी अनलाइन सञ्चार माध्यमले आफ्नो फेसबुक पेजको लाइक बढाउन गर्ने गरेका छन् । यस्तै चलचित्र, म्युजिक भिडियो निर्माता, व्यापारी, अनलाइनमा आधारित व्यबसाय जस्तै ई-कर्मस, डोमेइन, वेबहोस्टिङ, पेमेन्ट गेटवेले आफ्नो उत्पादन तथा समग्रीको प्रचार गर्न उपयोग गरेका छन् । चुनावको समयमा उमेम्द्वारलाई जिताउन पनि यस्ता बिज्ञापन बनाइएका थिए । केही व्यक्तिले ब्यक्तिगत रुपमा आफ्नो पेजको लाइक बढाउन र आफ्ना बिचार धेरै मानिससम्म पुर्याउन फेसबुक बुस्ट गर्ने गरिरहेका छन् । यति मात्र नभइ, सरकारका बहालवाला मन्त्रीले नै यस्तो प्रचार गरेको हामीले देखिरहेका छौं ।

सरकारका बहालवाला मन्त्रीले बिज्ञापन स्पोन्सर गर्ने कुरा नौलो होइन । अमेरिकामा पनि राष्ट्रपनि डोनल्ड ट्रम्पका स्पोन्सर गरिएका बिज्ञापन बेला बेला देख्न सकिन्छ । तर नेपालको अहिलेको कानुनले हुन्डीलाई गैरकानुनी मानेको अवस्थामा यसको भुक्तानीको पाटोलाई लिएर कुरा उठ्नु स्वभाविक हो । यसैकारण पनि यो अहिले सरोकारवालाको चासोको बिषय बनेको हो ।

यी भित्री कुरा केलाउनुभन्दा पहिले फेसबुक तथा यस्ता ईन्टर्नेटमाफर्त हुने बिज्ञापन कसरी गरिन्छ त्यो बुझौं । यदि तपाईं अनलाइन प्रबिधिमार्फत बिज्ञापन गर्ने सोचमा हुनुहुन्छ भने नेपालका केही टप वेबसाइटहरु जस्तै अनलाइन खबर डटकम, कान्तिपुर डेली डटकम, रातोपाटी डटकम, अन्नपुर्णपोस्ट डटकम (अहिलेको अलेक्सा रेंकमा आधारित) को कार्यालयमा वा तोकिएका बिज्ञापन एजेन्सीसँग सम्पर्क राखी ति वेबसाइटमा तोकिएको शुल्क तिरी आफ्नो बिज्ञापन राख्न सक्नुहुन्छ । अनि यी अनलाइनका कार्यालय वा एजेन्सीलाई सम्पर्क नगरिकनै पनि ती वेबसाइटमा बिज्ञापन राख्न सकिन्छ । यसरी बिज्ञापन राख्न चाँहि गुगल एडवर्डमा खाता खोल्नुपर्छ । अनि बिज्ञापनको ढाचा र कुन देशमा बिज्ञापन देखाउने हो लोकेसनसमेत मिलाई गुगललाई बैंकको डेबिट वा क्रेडिक कार्डबाट पैसा तिरेर बिज्ञापन गर्न सकिन्छ । यसरी गरिएका बिज्ञापन गुगल एडसेन्समा सहभागी भएका नेपालीका तथा नेपालमा खोलिने अन्य देशमा बनाइएका वेबसाइटमा पनि देखिन्छन् ।

यसैगरी फेबसबुकमा पनि बिज्ञापन राख्न सकिन्छ । फेसबुकमा बिज्ञापन राख्न फेसबुक पेज बनाउनु पर्छ । फेसबुक पेजमा राखिएका पोस्ट बुस्ट गर्न मिल्छन् । फेसबुक पेजलाई प्रमोट गर्ने अप्सन पनि त्यहीँ हुन्छ । बुस्ट वा प्रमोट गरिएका बिज्ञापन म्यानेज गर्र्न मोबाइलमा फेसबुक एडम्यानेजर भन्ने एप्स राख्नुपर्छ । यसरी बुस्ट वा प्रमोट गरिएका सामग्री उक्त पेज लाईक नगरेका ब्यक्तिको फेसबुक वालमा पनि जाने गर्छ । गुगलको जस्तै फेसबुकबाट बिज्ञापन गर्न पनि बैंकको कार्ड वा पैसा भएको पेपाल अकाउन्ट हुनुपर्छ ।

नेपाली बैंक तथा बित्तीय संस्थाले जारी गर्ने सामान्य कार्ड जस्तै: एटीएम कार्ड, डेबिट कार्ड, तथा क्रेटिक कार्ड नेपाल र भारतका एटिएम, पि.ओ.एस. मेसिन र नेपाली बैंकहरुले जारिगरेका अनलाईन पेमेन्ट गेटवेमा मात्रै चल्छन् । यी कार्ड हरु प्रयोग गरी नेपाल बाहिरका अनलाइनमा भुक्तान गर्न मिल्दैन र यी कार्ड प्रयोग गरी पेपाल अकाउन्ट बनाउन र पेपालमा पैसा सार्न पनि मिल्दैन । बैंकले बैदेसिक भ्रमण वा उपचार गर्न जान लागेका ब्यक्तिलाई डलर करेन्सी भएको डेबिट प्रिपेड कार्ड जारी गर्छन । यस्ता प्रिपेड कार्ड प्रयोग गरी बिदेशमा गएर एटीएमबाट पैसा झिक्न र पिओएस मेसिनको प्रयोग गरी सामान खरिद गर्न मिल्छ । यस्तो कार्ड सबैलाई दिइदैन बैदेशिक भ्रमणमा जाने ब्यक्तिको भिजा लागेको सक्कली पासपोर्ट र कन्फर्म गरिएको हवाइ टिकट रुजु गरेर मात्र बैंकले यस्तो कार्ड दिन्छन् । तर पनि प्रिपेड कार्यबाट पेपाल जस्ता अकाउन्ट भेरिफाइ नहुने हुँदा यस्ता कार्डबाट अनलाइन भुक्तानी गर्न सहज छैनन् । नेपाली बैंकमा राउटिङमा आधारित अनलइन पेमेन्ट जस्तै कि कुनै बैंकको प्रयोगकर्ताले आफ्नो नेपालको बैंक खाता नम्बर र राउटिङ नम्बर बिदेशमा रहेको कम्पनीलाई दिएर उसले उतैबाट नैपालको बैंकमा रहेको रकम झिक्न सक्दैन । काठमाडौंमा रहेका केही बैंकले अत्यावश्यक परेको प्रस्टकारण खुलाउन सके अनलाइनमा रहेका सामन खरिद गर्न र भुक्तानी गर्न आफ्नै कार्यालयमा बोलाएर सशुल्क सहयोग भने गरिरहेका छन् ।

नेपालको बैंकिङ प्रणाली झन्झटिलौ छ । यो झन्झटिलो प्रणालीमा पस्यो भने मुद्रा अपचलनको मुद्दा पनि लाग्न सक्छ । त्यसैले मानिसहरू सजिलोको लागि विदेशमा बस्ने साथी वा आफन्तबाट उता विज्ञापन गराउँछन्, त्यसको सोधभर्ना नेपालमा गर्छन् ।

यी उदाहरणबाट के प्रस्ट छ भने अनलाइन पेमेन्टमार्फत जो कोहीले नेपालको पैसा बिदेशमा पुर्याउन त्यति सहज छैन । बैदेसिक रोजगारी, डीभी लोटरी तथा बिद्यार्थी भिसामा अमेरिका अस्ट्रेलिया जापान तथा युरोपेली मुलुकमा अहिले लाखौ नेपाली पुगेका छन् । नेपालमा कोही कसैलाई अनलाइन भुक्तानी गर्नुपरेमा वा अनलाइनमा कमाएकोे पैसा नेपाल ल्याउन परेमा नेपालमा रहेका नेपालीले यिनै व्यक्तिको सहयोग लिने गरेका छन् । प्राय बिकसित मुलुकमा रहेका बैंकले जारी गर्ने कार्डहरु विश्वभरका भिजा, मास्टरकार्ड, डिस्कभर, अमेरीकन एक्सप्रेस, युनि-पेजस्ता आफ्नो नेटवकमा जहाँ पनि प्रयोग गर्न मिल्नेगरी बनाएका हुन्छन् । यस्ता कार्डबाट जुनसुकै अनलाइन साइटमा पैसा तिर्न तथा डेबिट कार्ड भए पैसा लिन पनि मिल्छ ।

नेपालको झन्झटिलौ बैंकिङ प्रणलीमा जानुभन्दा सजिलो उपाय पनि यही हुन आउँछ । बिज्ञापन गर्दा लागेको खर्च होस् या अनलाइन सपिङ गर्दाको खर्च बिदेसमा बस्ने साथी वा आफन्तले तिरिदिन्छ । यता नेपालमा खरिद गर्ने वा खर्च गर्न ब्यक्तिले विदेशबाट पैसा तिरिदिएको साथी वा आफन्तको घर परिवार वा उसकै नेपालमा रहेको बैंक खातामा जम्मा गरिदिन्छ । सोझो अर्थमा भन्दा न विदेशबाट पैसा आउँछ न विदेसमा पैसा नै जान्छ । एउटा नेपालीको पैसा अर्को नेपालीको गोजीमा जान्छ । यसलाई अझै गहिराइबाट हेर्दा ए नाम गरेको ब्यक्तिले नेपालम ठुलै अनलाइन कारोबार गर्छ र उसको बी नाम गरेका साथी विदेशमा पैसा कमाउछ र उसको पैसा तिरिदिन्छ भने बी नाम गरेको ब्यक्तिले आफुले कमाएको पैसा बैंकमार्फत रेमिटान्स गरी नेपाल आउनुपर्ने विदेशी पैसा विदेशमै सकिन्छ ।

यस्तै अर्को तरिका पनि छ, भारतमा फेसबुकको कार्यलय छ र केही भारतीय बैंकका कार्ड अनलाइन पेमेन्ट गर्न मिल्ने छन् । भारतमा बस्ने आफन्तलाई यतैबाट नगद पैसा लगेर उनीहरुको खातामा हाल्ने र अनलाइन पेमेन्ट गर्ने गरिन्छ । तर, यो प्रक्रिया त्यति सुन्नमा आएको भने छैन ।

यस्तो कार्यले अन्तत: राज्यको आर्थिक प्रणालीलाई नोक्सान गर्छ । नेपालमा आउनुपर्ने पैसा विदेशमै रोकिन्छ, सकिन्छ । हेर्दा सानो देखिए पनि यो प्रणालीबाट करोडौैंको कारोबार भैरहेको हुनछ । त्यसैले यो प्रणालीलाई समयमै नियमन गर्नुपर्ने देखिन्छ । त्यसको लागि फेसबुक, गुगलजस्ता सञ्जाललाई नेपालमा कार्यालय खोली करको दायरामा ल्याउनु नै एकमात्र उपाय हो ।

(भण्डारी यस विषयका ज्ञाता हुन् ।)
प्रकाशित मिति: : 2019-08-24 09:01:26

प्रतिकृया दिनुहोस्