डुवाथोलनमा हिमाल टमाटालाई स्वर्ण, लक्ष्मण र भूमिलाई रजत

बिएल

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ट्रायथोलनको मंगलबार पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ। त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो।

गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमी दौड, २० किमी साइकल र पुनः दुई दशमलव पाँच किमी दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा गरी नेपालका हिमाल टमाटाले स्वर्ण पदक दिलाएका हुन्। नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पूरा गरी रजत तथा श्रीलङ्काका अशिथ परेराले ५९ मिनेट ३२ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे।

त्यस्तै, महिलातर्फ श्रीलङ्काका एराङ्गा दुलाक्षीले निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक प्राप्त गरिन् भने नेपालका भूमि बुढामगरले एक घण्टा आठ मिनेट ५८ सेकेण्डमामा तोकिएको दूरी पूरा गरी रजत प्राप्त गर्न सफल भइन्।

श्रीलङ्काका उदय कुमारीले एक घण्टा नौ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पूरा गरी कास्य पदकमा चित्त बुझाइन्। सागको ट्रायथोलनमा आयोजक नेपालसहित भारत र श्रीलङ्काले सहभागिता जनाएका छन्।

प्रकाशित मिति: : 2019-12-03 13:34:11

प्रतिकृया दिनुहोस्