आफ्नै देशमा झन्डा बोक्न पाउनु गौरवको क्षण–कमलबहादुर अधिकारी

सन् २०१६ मा इन्डाेनेसियाकाे जर्कातामा भएकाे एसियाडमा नेपाली झण्डा बाेकेका कमलबहादुर अधिकारी।

आफ्नै देशमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशको झण्डा बोक्ने अवसर पाएका भारत्तोलक कमलबहादुर अधिकारीले ऐतिहासिक उपलब्धी भनेका छन्।

बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिने क्रममा उनले शनिबार दिउँसो पोखरामा अभ्यास गरिरहेको बेला आफूलाई यसको जानकारी आएको बताए। ‘आफ्नै देशमा देशको झन्डा बोक्न पाउनु गर्वको विषय हो। यो मेरो जीवनकै ऐतिहासिक क्षण हुनेछ,’ उनले भने।

कमलले सन् २००६ श्रीलंकाको कोलम्बोमा आयोजना भएको दशौं सागमा भारत्तोलनतर्फ स्वर्ण जितेका थिए। उनी भारत्तोलनमा स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडी हुन्। उनले यसअघि सन् २००६ को कतार एसियाड, सन् २०१० को ग्वान्झाओ एसियाड र २०१६ को इन्डोनेसिया एसियाडमा नेपाली झन्डा बोकेका थिए।

‘मैले यसअघि पनि एसियाडमा तीन पल्ट झन्डा बोकिसकेको छु। तर, आफ्नै देशमा झन्डा बोक्न पाउनु गौरवको कुरा हो,’ उनले भने।

यसअघि झन्डा बोक्ने खेलाडीमा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काको पनि नाम अगाडि आएको थियो। तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा कमलको उपस्थितिलाई हेरेर खेल पदाधिकारीले उनको छनोट गरेका थिए। कमलले ओलम्पिक, एसियाड र दक्षिण एसियाली खेलमा प्रतिस्पर्धा गरिसकेका छन्।

उनी राष्ट्रिय टिमका अनुभवी खेलाडी पनि हुन्। कमलले सन् २०१७ को सिनियर एसियन च्याम्पियनसिप र सिनियर एसियन अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप र फेजर कपमा कास्य जितेका छन्।

प्रकाशित मिति: : 2019-12-01 13:27:31

प्रतिकृया दिनुहोस्