नेपाली करातेका पीडित खेलाडी मण्डेकाजी श्रेष्ठले पहिलो साग सहभागितामै इतिहास रचेका छन्। उनले सोमबार १३ औं सागको पहिलो दिन एकल र टिम कातामा दोहोरो स्वर्ण जित्दै इतिहास रचेका हुन्।
नेपाल करातेको इतिहासमा एउटै सागमा दोहोरो स्वर्ण जित्ने उनी पहिलो खेलाडी बनेका छन्। लामो समयदेखि अनवरत कराते खेल्दै आएका मण्डेकाजीको यो पहिलो साग सहभागिता पनि हो।
उनी सन् २०१० बंगलादेशको ढाकामा आयोजना भएको एघारौं सागमा १५ सदस्यीय कराते टोलीमा समावेश भएका थिए। तर, आयोजक बंगलादेशले खेलाडीको संख्या कटौति गर्ने निर्णय गरेपछि उनी थाइल्यान्डको बैंककमा भएको बन्द प्रशिक्षणकै क्रममा देश फर्किन बाध्य भए।
भारतमा ४ वर्षअघि भएको १२ औं सागमा करातेलाई समावेश गरिएन। यसै कारण उनी पुनः दक्षिण एसियाको ठूलो प्रतियोगितामा सहभागी हुन असफल भएका थिए। उनी नौ वर्षको तपस्यापछि सागमा स्वर्ण जित्न सफल भएका हुन्।
‘म हृदयदेखि खुसी छु। आफ्नै घर मैदानमा भएको प्रतियोगितामा दोहोरो स्वर्ण जित्न सफल भए। मैले हरेस खाइनँ। निरन्तर खेल्दै आए। यसैको उपलब्धी होला,’ श्रेष्ठले बिएल नेपाली सेवासँग भने।
उनले आफूले जितेको पदक आफ्नो आमाबुवा, नेपाल प्रहरी, नेपाल ओलम्पिक कमिटी र नेपाल कराते संघलाई समर्पण गर्न चाहेको बताए। उनले जति नै बाधा भएपनि आफूले दक्षिण एसियाली खेल खेलेरै छाड्ने अठोट राखेको र त्यो पुरा भएकोमा खुसी व्यक्त गरे।