दक्षिण एसियाली खेलकुदमा नेपाललाई पहिलो स्वर्ण दिलाउने धाविका बनेकी सन्तोषी श्रेष्ठले आफ्नो पदक राष्ट्रको नाममा समर्पण गरेकी छिन्। उनले आफूलाई दौडिन सिकाउने स्कुले गुरुदेखि विशेषरूपले तयार पारेका प्रशिक्षक रघुराज वन्तप्रति विशेष आभार व्यक्त गरेकी छिन्।
धादिङकी मध्यदूरीकी धाविका सन्तोषी सन् १९८४ देखि सुरु भएको साग गेम्समा महिला एथलेटिक्सतर्फ स्वर्ण भित्र्याउने पहिलो नेपाली खेलाडी हुन्। सागको ३५ वर्ष लामो इतिहासमा महिला एथलेटिक्समा नेपालले स्वर्ण भित्र्याएको यो पहिलो अवसर हो।
नेपालकी पूर्वस्टार कान्छीमाया कोजूले सन् २००६ श्रीलंकाको कोलम्बोमा सम्पन्न दशौं सागमा रजत जितेकी थिइन।
सन्तोषीले १० हजार मिटर दौडमा भारतीय धाविकालाई शुन्य दशमलव १ सेकेन्डले पछि पार्दै स्वर्ण जितेकी हुन्।
सन्तोषी पढाइमा पनि अब्बल छिन्। उनी पब्लिक हेल्थ अध्ययनरत छिन्। उनको अहिलेको नतिजा १५ वर्षदेखिको कडा परिश्रम हो। उनले ६ कक्षा पढ्दादेखि दौडिन सुरु गरेकी हुन्।
एक दाजु र एक भाई कि बहिनी सन्तोषीलाई सानो उमेरदेखि नै बुवाले काठमाडौं राखेर पढाउदै आएका थिए। सानोमा दौडिन जाँदा भाईले निकै जिस्काउने गरेको अनुभव सुनाउँछिन् सन्तोषी।
बिएल नेपाली सेवासँग विशेष अन्तर्वार्तामा सन्तोषीले भनिन्, ‘मैले २०६२ सालदेखि दौडिन थालेकी हुन्।’ उनलाई साहित्यमा निकै रुचि छ। स्कुले जीवनमा बादविवाद र वक्तृत्वकलामा भाग लिने गर्थिन्।
उनलाई सानैदेखि गोल्ड मेडल जित्ने खुब रहर थियो। उनले २०६२ सालमा भएको स्कुलको प्रतियोगितामा स्वर्ण जितेकी थिइन। यसले उनलाई हौसला प्रदान गरेको थियो।
सन्तोषीका आमाबुवा पनि आफ्नो छोरीको सफलताबाट गर्वान्वित भएको बताउँछन्। उनलाई सुरुदेखि नै प्रशिक्षण दिएका एथलेटिक्स प्रशिक्षक रघुराज वन्तले अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पदक जित्नेमा आफू ढुक्क रहेको बताए।
‘५ वर्ष अघि उसलाई दौडिएको देखेपछि नै मलाई लागेको थियो, उ भविष्यको स्टार खेलाडी हो। आठौं बृहत राष्ट्रिय खेलकुदमा उसले स्वर्ण जितेपछि मलाई पक्का भयो,’ वन्तले बिएल नेपाली सेवासँग भने।
सन्तोषीका दाजु केदार श्रेष्ठ, जो थिएटर आर्टिस्ट पनि हुन्। उनले बहिनीको सफलताले आफूमा रोमाञ्चकता भरिएको बताए। ‘उनको सफलतामा अन्तर्वार्ता दिन पाउँदा खुसी लागेको छ,’ उनले भने।
सन्तोषीको ऐतिहासिक पदकलाई लिएर बिएल नेपाली सेवाले उनको परिवार र गुरु रघुराज वन्तसँग गरेको भिडियो अन्तर्वार्ताः