तेक्वान्दो खेलाडी गोविन्द आलेको मन अहिले निकै चञ्चल छ। नेपालका प्रतिभाशाली खेलाडी आले बिहीबार १३ औं सागअन्तर्गत पहिलो खेलमा उत्रिँदैछन्। उनको यो पहिलो साग सहभागिता हो। चीनमा आयोजना चाइना ओपन तेक्वान्दो प्रतियोगितामा उनले कास्य जितेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
५ महिनाअघि नेपालगञ्जमा आयोजना भएको आठौं बृहत राष्ट्रिय खेलकुदमा पनि उनले ६७ केजी तौल समूहमा स्वर्ण जितेका थिए।
उनी सागका लागि नेपालको राष्ट्रिय टोलीमा छनोट भएयता अनवरत अभ्यास गरिरहेका छन्। यस बीचमा उनको छोरीको पनि जन्म भयो। सागको विशेष तयारीमा रहेका कारण उनले विगत २ महिनादेखि आफ्नो बच्चा हेर्न पाएका थिएनन्।
तर, बिहीबार उनको खेल हेर्न श्रीमतिसहित परिवारका अन्य सदस्य काठमाडौं आएपछि उनले पुनः छोरीको अनुहार हेर्न पाए। गोबिन्द बिहीबार सागको पहिलो खेलमा भिड्दै छन्। उनीबाट देशले स्वर्ण पदकको आशा गरेको छ।
बुधबार छोरीसँग लुटपुटिएका गोबिन्द भन्दै थिए, ‘२ महिनापछि भेट भएको हो।’ गोबिन्दको श्रीमति सिमरन बिक पनि तेक्वान्दोको थर्ड डान हुन्। उनले जुनियर प्रतियोगितामा थुप्रै खेल जितिसकेकी छिन्। ‘साग गेम्समा स्वर्ण जितेर ओलम्पिकको तयारीमा जुट्ने योजना छ,’ उनले सुनाए।