एमबाप्पे,नेयमार र इकार्डी चम्कदा पीएसजीको सानदार जित

बिएल संवाददाता

काठमाडाैं,पुस ६

 फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ। 

पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा स्टार खेलाडीहरु केलियन एमबाप्पे दुई गोल गरे। यस्तै नेयमार र मोउरो इकार्डीले एक एक गोल गरे।  एमेइन्सका स्टेभिन मेन्डोजाले सान्त्वना गोल फर्काए।

पार्क दि प्रिन्सेस पेरिसमा खेलको १०औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो। ४७औं मिनेटमा इकार्डीको पासमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।

६५औं मिनेटमा एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए। ७०औं मिनेटमा स्टिभिनले गोल गर्दै खेललाई ३–१ को अन्तरमा ल्याएका थिए। ८४औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए।

जितसँगै पीएसजीले शीर्षस्थानमा यथावत रहेको छ। पीएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ। जुन एक खेल बढी खेलेको मार्सेलीको भन्दा ७ अंक बढी हो। एमेइन्स १७ अंकसहित १८औं स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-22 21:40:30

प्रतिकृया दिनुहोस्