२०४६ सालको आन्दोलनमा श्रीमान गुमाएकी पार्वती भन्छिन्, ‘एक्लै सोचे एक्लै भइन्छ’

उनी अवकाशपछि आफूलाई पेन्सन स्वरुप केही पैसा आउने सुनाउँछिन्। तर, छोराहरूले पनि आमालाई गाह्रो पर्छ भनेर अलिकति खर्च पठाउने गरेको बताउँछिन्

प्रजातन्त्र स्थापनाका लागि २०४६ सालमा आन्दोलन उत्कर्षमा थियो। विराटनगर घर भएकी पार्वती कोइराला धुन्चेको एउटा सरकारी स्कुलमा अध्यापनरत थिइन। 

खबर आयो– ‘तिम्रो श्रीमानलाई आन्दोलनको क्रममा गोली लाग्यो। तुरुन्त काठमाडौं जानु रे।’

कक्षा कोठामा रहेकी पार्वतीको एक्कासी गोडा लुगलुग काम्न थाल्यो। लेख्दै गरेका ‘ब्ल्याक बोर्ड’ का अक्षरहरू धुमिल बन्दै गए। उनी अतालिएर काठमाडौं दौडिइन्। काठमाडौंमा केही दिनसम्म श्रीमान कहाँ छन्? पत्तो पाउन सकिनन्। ठाउँ–ठाउँ भौतारिइन्। अस्पताल–अस्पताल धाइन। दुई दिनपछि श्रीमान कहाँ छन्, बल्ल पत्तो लाग्यो। 

टाउकोमा गोली लागेका श्रीमान बीर अस्पतालको एउटा कुनामा अचेत अवस्थामा भेटिए। स्वाँस मात्र बाँकी थियो। शरीरका अन्य अंग चल्न छोडिसकेका थिए। लाग्थ्यो– पार्वतीका लागि मात्र उनी कुरेर बसेका थिए। अर्को दिन श्रीमानले संसार छोडे। 

पार्वतीले त्यति बेला पहिलो पल्ट आफू एक्लो भएको महसुस गरिन्। उनलाई संसार रोकिए झैं भयो। 

श्रीमान रमेश कोइराला त्रिभुवन विमानस्थलको अध्यागमन विभागमा काम गर्थे। कफ्र्यू लाग्ने कुरा सुनेपछि उनी हतारिदैँ डेरा फर्किरहेका थिए। बीच बाटोमै कफ्र्यूको घोषणा भयो। मैतीदेवीको उकालो नपुग्दै सेनाले हानेको गोली टाउकोमा लागि उनी त्यहीँ ढले। 

त्यति बेला पार्वतीका दुई छोरा र छोरी साना थिए। आफन्तले उनलाई आडभरोसा दिए। सामाखुसीमा बसोबास गर्ने ध्रुबलाल श्रेष्ठले छोराछोरीको उज्जवल भविष्यका लागि पुनः काममा फर्किन प्रेरित गरे। समयक्रमसँगै पीडालाई बिर्सन उनी विभिन्न सामाजिक कार्यमा लागिन्। 

छोराछोरी पढेर ठूला भए। जेठा छोरा अहिले अमेरिकामा छन्। कान्छो अस्ट्रेलियामा। छोरीको पनि बिहे भइसक्यो। ६१ वर्षीय पार्वती विगत दुई वर्षदेखि पुनः एक्लो जीवन बिताइरहेकी छिन्। तर यति बेला घरमा होइन, काठमाडौंको नागपोखरीस्थित जेष्ठ नागरिक स्यहार केन्द्रमा। 

पिपल्स टु पिपल्स इन्टरनेशनल (पीटीपीआई)’ भन्ने संस्थामा आवद्ध हुँदा उनी अमेरिका गएकी थिइन। त्यही उनलाई टाउकोमा स्ट्रोक भयो। उनले डाक्टरलाई भनेर जेठो छोरा बोलाउन लगाइन्। घरमा भाइ र बहिनी थिए। जेठो छोराले सल्लाह दियो–आमा नेपाल फर्किनुस्।

उनी नेपाल फर्किइन। दत्तचित्त भएर आफूले गर्नुपर्ने व्यवहार सबै पुरा गरिन्। स्ट्रोकका कारण खुट्टा राम्ररी चलेन। दुबै छोरा बाहिर भएपछि उनको हेरचाह पुगेन। त्यसैले छोराछोरीकै सल्लाहमा जेष्ठ नागरिक स्यहार केन्द्रमा बस्न थालिन्।

उनले शिक्षण पेशाबाट अवकाश पाएको १६ वर्ष बितिसकेको छ। केही समयअघि मात्र कान्छो छोरा अस्ट्रेलियाबाट आएर एक महिना बसेर गयो। उनी अहिले जेठो छोरा कुरेर बसेकी छिन्। ‘अब जेठो आउँछ होला,’ उनी भन्छिन्।

सपरिवार सँगै बस्न पाए राम्रो हुन्थ्यो भन्छिन्, उनी। तर, छुट्टिएर बस्दा पनि खासै नराम्रो अनुभव नभएको उनको भनाई छ। ‘मैले गर्नुपर्ने सम्पूर्ण व्यवहार गरिसकेको छु। उनीहरू ठाउँमा पुगेका छन्। त्यसैमा खुसी लाग्छ,’ उनी भन्छिन्। 

उनी अवकाशपछि आफूलाई पेन्सन स्वरुप केही पैसा आउने सुनाउँछिन्। तर, छोराहरूले पनि आमालाई गाह्रो पर्छ भनेर अलिकति खर्च पठाउने गरेको बताउँछिन्। 

उनलाई विदेशभन्दा नेपालमै सहज लाग्छ। ‘थुप्रै संघ–संस्थामा आवद्ध हुँदा म अमेरिका, अस्ट्रेलिया र  जर्मनी पुगे,’ उनले भनिन्, ‘उनीहरूको समाज नै बेग्लै छ। हामी यहाँ रक्ति सक्यौं।’ 

उनी दिमागले जे सोच्यो त्यही हुने बताउँछिन्। भन्छिन्, ‘म एक्लै छु भनेर सोच्यो भने एक्लै भइन्छ। यहाँ साथीहरू छन्। रमाइलो हुन्छ। कहिले नाच्छन्। मलाई स्ट्रोक भएको हुनाले खुट्टा चलाउनु हुन्न। तर, पालो आयो भने बोल्ने काम गर्छु।’ 
 

प्रकाशित मिति: Jan 07, 2020 18:27:12

प्रतिक्रिया दिनुहोस

सबै