‘मैले के गल्ती गरें पार्टीले सहीछाप गरेर देओस्, राजीनामाबारे अनि सोचौंला’

देखापढी

काठमाडौं

२६ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गर्‍यो। तुम्बाहाङ्फेले भने आफैं सभामुख बन्न पाउनुपर्ने दाबी गरिरहेकी छन्। पार्टी सचिवालयको निर्णयबारे तुम्बाहाङ्फेसँग देखापढीका लागि उद्धव थापाले गरेको कुराकानीः

नेकपाको सचिवालय बैठकले तपाईंलाई उपसभामुख पदबाट राजीनामा गराउने निर्णय गर्‍यो। अब तपाईं के गर्नुहुन्छ ?

खै, पार्टीले मलाई केही भनेको छैन। के निर्णय गर्‍यो थाहा छैन।

पार्टीले त प्रक्रियामा तपाईंलाई जानकारी गराउँछ होला नि त?

त्यही प्रक्रिया पूरा गरोस् न त पार्टीले । मलाई थाहा दिनुपर्‍यो नि।

त्यसोभए, थाहा दिएपछि चाहीं राजीनामा गर्छु भन्नुभएको हो?

होइन। के कारणले मैले राजीनामा दिनुपर्‍यो भन्ने प्रश्न त मैले शुरूदेखि गर्दै आएको छु। मैले पार्टीलाई प्रश्न गरिरहेकै छु। अहिले राजीनामा दिनु भनेको त म जुन पदमा काम गरिरहेको छु त्यसबाट बर्खास्त हुनु जस्तै हो।

के कारणले उपसभामुख पद छोड्नु पर्‍यो मैले? पार्टीले जहिले जवाफ दिन्छ त्यही बेला के गर्ने भन्ने सोच्नेछु। निवर्तमान सभामुख महराजीले जे गल्ती गर्नुभयो त्यसको सजाय मैले पाउनुपर्ने? तिमीले उपसभामुख भएर यो–यो गल्ती गर्‍यौ, छोड भनेर पुष्टि त गर्नुपर्‍यो नि। मलाई कन्भिन्स गर्नु पर्‍यो। नभए म किन छोड्छु?

प्रकाशित मिति: : 2020-01-12 21:31:21

प्रतिकृया दिनुहोस्