गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै जिल्ला प्रशाशन कार्यालयमा निवेदन

बिएल संवाददाता

काठमाडाै‌ं

गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउत विरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरिएको बिएल नेपाली सेवालाई जानकारी दिए।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन्। 

तर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै  विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन्।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो।

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले आस्था राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिएका थिए।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई आज नै नियन्त्रणमा लिने तयारी गरिएको छ।

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन्। उनी आज नै नेपाल फर्कने कार्यक्रम रहेको छ।
 

प्रकाशित मिति: : 2020-01-20 00:08:56

प्रतिकृया दिनुहोस्