जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले फराकिलो जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमण्डले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेसँगै तेस्रो स्थानमा उक्लिएको हाे।
डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। यस्तै राफेल गुइरेरो, मार्को रिउस र जाडोन सान्चोले एक एक गोल गरे। एफसी कोल्नका मार्क उथले एक गोल फर्काए।
खेलको पहिलो मिनेटमा नै जाडोन सान्चोको पासमा राफेल गुरेरोको गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए। २९औं मिनेटमा माट हुमेल्सको पासमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे।
पहिलो हाफमा डर्टमण्डले २–० को अग्रता लिदा दोस्रो हाफमा थप ३ गोल गर्दा एक गोल बेहोरेको थियो। ४८औं मिनेटमा कप्तान रिउसको पासमा जाडोन सान्चोले गोल गर्दै डर्टमण्डलाई फराकिलो जिततर्फ अग्रसर गराए। ६४औं मिनेटटमा मार्क अथले गोल गर्दै गोल अन्तर ३–१ मा झारे। त्यसपछि सब्सिच्यु अर्लिङ हालान्ड चम्किए।
हालान्डले ७७औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई ४–१ ले अघि बढाए। हालान्ड ७७औं मिनेटमा थोर्गन हजार्डको स्थानमा मैदान प्रवेश गरेका थिए।
हालान्डले मैदान प्रवेश गरेको १३ मिनेटभित्र गोल गर्न सफल भएको हो। ८७औं मिनेटमा मामुदको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५–१ को फराकिलो जित दिलाए।
जितसँगै डर्टमण्डले १९ खेलमा ३६ अंक जोडेको छ।
लिगमा शीर्ष स्थानको आरबी लिपजिगको ४० अंक रहदा दोस्रो स्थानको वायर्न म्युनिखको ३६ अंक रहेको छ।
१९ खेलमा २० अंक जोडेको कोल्न १३ औं स्थानमा रहेको छ।