मुलुकभर नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले देशका ७७ जिल्लामै फोर जी सेवा विस्तार गरेको छ। गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच ७७ जिल्लाकै प्रमुख स्थानमा विस्तार भएको टेलिकमले जनाएको छ।

प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीका अनुसार देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक कम्पनी भएको छ।

टेलिकमले अहिलेसम्म २ हजार ३८ साइडका ३ हजार ६८३ टावरमा जडान फोरजी प्रविधि जडान गरेको र दुई सयभन्दा बढी नयाँ टावर नयाँ स्थापना गरिसकेको छ।

फोरजी परियोजनाअन्तर्गत कम्पनीले ४ हजार २ सय टावरमा फोरजी प्रविधि जडान र थप ६४० नयाँ टावर स्थापना गर्ने लक्ष्य राखेको छ।

नेपाल टेलिकमले त्यसअघि २०७३ पुस १७ गते नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । त्यतिबेला १८ सय मेगाहर्ज ब्यान्डमा फोरजी सेवा सुरु गरेको कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा मात्र यो सेवा उपलब्ध गराएको थियो।

नेपाल टेलिकमले हाल ८१८ सय मेगाहर्ज ब्यान्डअन्तर्गत प्राप्त फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ । परियोजना सम्पन्न हुँदासम्म ६५ लाख फोरजीका नयाँ ग्राहक थप गर्ने लक्ष्य कम्पनीको छ ।

टेलिकमले गत वर्ष कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (र्‍यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङसँग सम्झौता गरेको थियो । दुवै कम्पनीसँग एक वर्षभित्रै देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो ।

 

प्रकाशित मिति: : 2020-02-05 23:34:26

प्रतिकृया दिनुहोस्