कोरोनो भाइरसलाई लिएर सामाजिक संजालमा ठट्टा गरेकोमा टोटेनह्यामका मिडफिल्डर डेल अल्लीले माफी मागेका छन्।
२३ वर्षिय अल्लीले स्न्यापच्याटमा एउटा भिडिओ राख्दै कोरोनोको महामारीलाई हाँसोमा उडाउँदै एक एसियाई पुरुषको खिसी गरेका थिए।
पछि उनले सो पोस्ट हटाउँदै चिनियाँ सामाजिक संजाल विबिबोमा अर्को भिडिओ पोस्ट गर्दै माफी मागेका थिए। ‘यो कुनै ठट्टा गर्ने विषय थिएन। चीनमा रहेका सबैलाई मेरो माया, सदभाव र प्राथना छ’,उनले भनेका छन्।
यो घटनापछि फुटबल एसोसिएसनले अल्लीसँग घटनाका बारेमा उनको दृष्टिकोण मागेको थियो। पछि उनले मैले आफू र क्लबलाई तल पारें भन्दै माफी मागेका हुन्।
अल्लीले पोस्ट गरेको भिडिओमा उनलाई विमानस्थलको लङमा मास्क लगाएको देख्न सकिन्छ। त्यसपछि उनले एसियाई मूलका मानिसको अनुहार क्यामरामा देखाउँछन् र पछि एन्टिसेप्टिक ह्यान्ड वासको बोतललाई जुम गर्छन्।
कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ। ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन्।
गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ। भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नौ सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ।
यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ।
त्यस्तै तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ।
ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको बताइएको छ।
हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, आइतबार सङ्क्रमण हुनेको सङ्ख्या दुई हजार ६ सय १८ रहेको थियो।