शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्छु: पर्सा प्रहरी प्रमुख पन्त

जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकारहरुसँग बोल्दै उनले हरेक जिल्लाको भौगोलिक बनावट तथा समाजिक परिवेश फरक हुने भएकाले घटनाका प्रकृति पनि फरक फरक हुने गरेको अवगत गराउँदै यहाँका स्थानीय सरकारसँग सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने जानकारी गराईन्।

प्रहरी उपरीक्षक पन्तले भनिन्,‘प्रहरी नागरीकका लागि हुन् तर शान्ति सुरक्षाका लागि यसमा सबैको साथ र सहयोग हुन आवश्यक छ।’

प्रहरी कार्यालयमा अधिकांश मुद्दा सामाजिक अपराध कै हुने भएकाले यस्ता घटना न्यूनिकरणका लागि स्थानीय सरकारको अहम् भूमिका हुने उनले बताईन्। ‘प्रहरी र स्थानीय सरकारको सहकार्यले आगामी दिनमा लैगिंक हिसांका घटनामा पनि कमि आउनेछ’, उनले भनिन्।

आफ्नो उद्देश्य सधै थुनुवा कक्ष खालि राख्ने भएको भन्दै उनले उनले समाजमा दबिएका अपराधका घटनालाई आफ्नो कार्यकालमा उजागर गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता समेत व्यक्त गरिन्।

आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठा भर्ने काम मात्र नगरी सबै प्रकृतिका अपराध न्यूनिकरणका लागि काम गर्ने उनले बताईन्।

पत्रकारसँगको कुराकानीमा उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारले सधै प्रहरी प्रशासनलाई सचेत गराईरहेको हुँदा आगामी दिनमा अझ शशक्त रुपमा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा जोड दिईन्।

अहिलेको अवस्थामा सेवाग्राही एक्लै प्रहरी समक्ष आउन डर मान्ने भएकाले यस्तो समयमा समुदाय र प्रहरीबिचको सम्बन्ध नजिक गर्ने वातावरण निमार्ण गर्न मिडियाको अहम् भमिका हुने उनले बताईन्।

प्रहरी प्रशासनको बारेमा गलत समाचार सम्प्रेशण हुँदा आम नागरिकमा डर र त्रास फैलिने हुँदा यस्तो कुरामा बिचार पुर्‍याउन समेत उनले अनुरोध गरिन्।

फरक प्रसंगमा उनले प्रहरी समाजका दर्पण भएकाले आगामी दिनमा जनमैत्रिमुखी प्रहरी बनाउने नेपाल प्रहरीको लक्ष्य रहेको बताइन्। प्रहरी उपरीक्षक पन्तले आफू पर्सा जिल्लाको ९ सय प्रहरीको अभिभावक भएको बताउँदै अभिभावकत्व निर्वाह गर्ने काममा सघाउ पुर्‍याउन सञ्चारकर्मीसँग आग्रह गरिन्।

प्रकाशित मिति: : 2020-02-16 05:03:31

प्रतिकृया दिनुहोस्