सरकारले असाधारण काम गरेको छ, पास मार्क दिन सकिनन्ः प्रवक्ता शर्मा

प्रमुख विपक्षी नेपाली कांग्रेसले दोस्रो वर्ष सरकार पास मार्क ल्याउन नकेकेको टिप्पणी गरेको छ।

 प्रधानमन्त्री ओलीले भने शनिबार संसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको दाबी गरेका थिए।

त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहज समयको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सरकार असफल भएको बताउँदै पास मार्क समेत दिन नसकिने बताएका हुन्।

शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत तुलनात्मक रुपमा सहज राजनीतिक वातावरण बनेको, नेकपाको बहुमत र लामो समय तेस्रो दलको साथका कारण बनेको दुई तिहाई र सालिन प्रतिपक्षका कारण सरकारलाई सहज समय भएको भन्दै उनले भने भने, ‘अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो।’

शर्माले सरकार संविधानको अक्षर भावनाअनुसारभन्दा पनि कम्युनिष्ट दर्शनको भड्काव बमोजिम कामहरू भइरहेको उल्लेख गरेका छन्।

‘बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप होइन, कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी? भन्ने प्रश्न उठ्छ नै,’ शर्माले भनेका छन्, ‘ओठे जवाफकै प्रष्टिकरण मुलुकले खोजेको छैन। सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको छ।’

शर्माले बाँकी तीन वर्षमा सरकारले कति आफ्नो लक्ष्य हासिसल गर्ने सम्भावना छ भन्ने दुई वर्षे लक्ष्यको वेहालतले धेरै प्रष्ट्याउने बताए।

‘नागरिकले लोकतन्त्रको दीर्घ जीवन, उत्तरदायी सरकार, सहिष्णु नेतृत्व, भयरहित समाज, निष्पक्ष न्याय, तटस्थ प्रशासन यन्त्र र समृद्धिमा गतिको अपेक्षा गर्नु नैसर्गिक हक हो। दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन सरकारले सफलता हासिल गरोस्, नेपाली कांग्रेसका तर्फबाट हार्दिक शुभकामना,’ शर्माले भने।

प्रकाशित मिति: : 2020-02-17 06:25:59

प्रतिकृया दिनुहोस्