नेपालमा पर्यटक तान्न चिनियाँ मिडियामा विज्ञापन दिइने !

चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ।

सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने भएको छ। कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्य दृष्य अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

चीनले सामना गरिरहेको सामनाप्रति ऐक्यवद्धता जनाउँदै यो संकट समाधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन्।

यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेवसाइटमा राखिनेछ। 

यस्तै वैकल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिएका छन्। प्रमुख पर्यटन बजारबाट सेलिब्रेटी, खेलाडी र सञ्चारकर्मीलाई नेपाल घुमाएर प्रचार गर्ने र नेपाल उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबाट पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन गर्दा दोहोरोपनः हुन नदिने वयवस्था मिलाउन समेत मन्त्री भट्टराईले आग्रह गरे।

नेपाल आउन चाहाने वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रोत्साहन गर्ने र नेपाल वायुसेवा निगमले नेपालका पर्यटन स्रोत बजारमा लक्षित गरी उडानको प्रक्रिया थाल्नेबारे समेत मन्त्री भट्टराईले निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2020-02-19 19:44:55

प्रतिकृया दिनुहोस्