फिकुरी ट्रेकको अवलोकन तथा परिचयात्मक भ्रमण गर्दै

रसुवा-नुवाकोट पर्यटन  समाजले आइतबारदेखि फिकुरी ट्रेकिङ ट्रेलको ५ दिने अध्ययन अवलोकन तथा परिचयत्मक भ्रमण गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्धेश्यले फागुन ११ गतेबाट सुरू हुने भ्रमण नुवाकोट दरबारबाट सुरू भएर रसुवाको घलेगढी पुगेर टुंगिने भएको छ।

कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा स्थानीयको सहभागिता हुनेछ।

फिकुरी ट्रेल सूर्यगढीबाट सुरू हुने कार्यक्रम भाल्चे, किस्पाङ, फिकुरी, ठूलोगाउँ हुँदै घलेगढीमा पुगेर सम्पन्न हुने रसुवा ट्रेक्सका सञ्चालक एवं युवा पर्यटन व्यवसायी गगन न्यौपानेले जानकारी दिए।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा हुने कार्यक्रमलाई सूर्यगढी, किस्पाङ, उतरगया, कालिका गाउँपालिकाले समन्वय गर्ने भएको छ।

राजधानी नजिक भएर पनि पर्याप्त स्रोत र साधन भएर पनि नुवाकोट जिल्लामा पर्यटकीय गतिविधिहरू सोचे अनुसार  हुन नसकेको भन्दै कार्यक्रमको आयोजना गरिएको टिम लिडरसमेत रहेका न्यौपानेले बताए।

पछिल्लो समय मौलाएको होमस्टेले केही पर्यटकलाई आकर्षित गरे पनि सबै पर्यटकीय गन्तब्यमा होमस्टेको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकको बसाई लम्ब्याउने नसकिरहेको उनले बताए।

हिमाली जिल्ला रसुवाका लाङटाङ, तामाङ हेरिटेज ट्रेल तथा गोसाईकुण्डमा स्वदेशीसँगै विदेशी पर्यटकको राम्रो आवतजावत हुने गरेको छ । यद्यपी नयाँ  पर्यटकीय स्थानको पहिचान र प्रवर्धन हुने अपेक्षा भ्रमणको रहेको छ।

प्रकाशित मिति: : 2020-02-23 11:02:39

प्रतिकृया दिनुहोस्