मनै लोभ्याउने मुस्ताङको ढुम्बा ताल (तस्बिरहरू)

हिमालपारीको सुन्दर र पर्यटकीय जिल्ला मुस्ताङको ढुम्बा ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गरेको छ । मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्राय पर्यटकहरू ढुम्बा तालको दर्शन गर्न पुग्ने गरेका छन् । पर्यटकको आगमन बढ्दै गएपछि स्थानीय व्यवसायीसमेत उत्साहित बन्दै गएका छन् ।

पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो । पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको सुन्दरताको दर्शन गर्नेको घुँइचो लाग्न थालेको छ ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।

तालका बारेमा चलचित्र र मिडियाको समाचारले यहाँ आउने पर्यटकलाई लोभ्याउन सहयोग गरेको छ । निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हेर्न दैनिक १ सय देखि ४ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको  भम्रण वर्ष गण्डकी प्रदेश सदस्य निरज थकालीले जानकारी दिए।

नीलो रङमा देखिने यो ताल हिजोआज जमेको छ। जमेको तालमा युवा तस्बिर खिचाउन जान थालेका छन्। जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बा ताल पुग्न सजिलै सकिने उनले बताए।

जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ । पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त तालसम्म पुग्ने सडक थप स्तरोन्नति हुनु आवश्यक छ । ढुम्बातालमा नेपाली चलचित्रको छायाङ्कन हुनुले पनि यस ठाउँको प्रचार प्रसार हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति: : 2020-02-23 23:15:00

प्रतिकृया दिनुहोस्