२५ जनाभन्दा बढी बोलाएर जन्मदिन मनाए कैद सजाय, के प्रधानमन्त्री ओलीलाई लाग्ला कानून?

सन्तोष भट्टराई

सरकारले तोकेको तलबमान अनुसार प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ७५ रुपैयाँ छ । तर, प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औं जन्मदिन लाखौं खर्चेर धुमधामसँग मनाए।

राजसी ठाँटमा मनाएको ओलीको जन्मदिनमा करिब ६ हजार सहभागी थिए। चार हेलिकप्टरसहित प्रधानमन्त्री ओली भिआइपीको लावालस्करसहित तेह्रथुमको आफ्नो जन्मघर आठराई गाउँपालिका पुगेका थिए। उनले स्कुले विद्यार्थीलाई कापी–कलम र जेष्ठ नागरिकलाई टोपीलगायतका सामग्रीसमेत वितरण गरे।

तर, कानूनले जुनसुकै पनि सरकारी ओहोदामा रहेका वा सामान्य जनताले २५ जनाभन्दा बढी मानिस जम्मा गरेर जन्मदिन मनाउन कानूनले बर्जित गरेको छ। कानूनमा तोके विपरीत जन्मदिन मनाए जेल सजायसम्म हुने प्रावधान छ।

प्रधानमन्त्री ओलीलाई हुन्छ त जेल सजाय ?

सामाजिक सुधार व्यवहार ऐन–०३३ को दफा ९ मा छैठी, न्वारन, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बुढो–पास्नीको भोजमा नियन्त्रण गरिएको छ। सोही दफाको उपदफा १ मा भनिएको छ,‘ छैठी, न्वारन, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बुढो–पास्नी गर्दा सो कर्मकाण्डसँग सम्बन्धित नजिकको नातेदारबाहेक अरू छरछिमेकी इष्टमित्रमध्येबाट २५ जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न हुँदैन।’

त्यस्तै, उपदफा २ मा यसरी उल्लंघन गरेको पाइएमा ‘१० हजार रूपैयाँ जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुने’ पनि उल्लेख गरिएको छ।

यती समूहकै कारण बदनाम बन्दै गएको ओली नेतृत्वको सरकारले यती समूहकै साथ पनि पाइरहेको छ। प्रधानमन्त्रीको जन्मदिनको केक यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले आफ्नै स्वामित्वको हेलिकोप्टरबाट ओसारेका थिए।

प्रकाशित मिति: : 2020-02-25 21:16:54

प्रतिकृया दिनुहोस्