प्रधानमन्त्रीलाई सुदूरपश्चिमको पत्र : ‘तमी पन निकाई होउला भन्या मान्याका छौं’

अनलाइनखबर

काठमाडाैं

श्रीमान सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यू,
सिंहदरबार काठमाडौं

विषय : पश्चिम सेतीको लागि मेरो पत्र ।


आज पत्र पठाउनुको कारण केही थिएन । तर, विगत २८ वर्षदेखि मेरा आशा र सपना मर्न थालेको छ । सुदूरपश्चिम प्रदेशको गौरव आर्थिक सामाजिक रूपान्तरणको वैभव हाम्रो ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।

उही लिपुलेक, लिम्पिया धुरा र कालापानीको भूगोलबाट भुवनबहादुर चन्द ।

यो धनगढीमा भुवनचन्दले प्रधानमन्त्री केपीशर्मा ओलीलाई पठाउन तयार पारेको पत्र हो । बुधबार मात्रै करिब २ हजार भन्दा बढीले प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्र तयार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी कार्यक्रम स्थलमै प्रधानमन्त्रीको लागि पत्र लेखन अभियान सुरु गरिएको थियो ।

राष्ट्रपति भण्डारी सहभागी कार्यक्रम स्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित पत्रको नमूना समेत रहेको थियो ।

पत्रको नमूनामा लेखिएको छ, ‘हामी यहाँ निकै छौं, तमी पन त्यता निकाई होउला भन्या मान्याका छौं । तुहार स्वास्थ्यमजामा रही शुभकामना बा’अर्थात् (हामी यता सन्चै छौं तपाईं पनि त्यता सन्चै हुनुहुन्छ होला भन्ने लागेको छ । तपाईंको स्वास्थ्य राम्रो रहोस् शुभकामना छ । )

प्रधानमन्त्री ओलीको तस्वीरसहितको ब्यानरमा उनलाई आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ भन्दै प्रश्न गरिएको छ ।

राष्ट्रपति सहभागी कार्यक्रममा प्रधानमन्त्रीको तस्वीरसहितको जिज्ञासाले धेरैको ध्यान खिच्यो ।

झन्डै तीन दशकदेखि चर्चामा आएर पनि निर्माण कार्य सुरु नभएको ७५० मेगावाटको पश्चिम सेती परियोजना निर्माणका लागि दबाव दिन बोलन्याथली धनगढीले बुधबार राष्ट्रपति सहभागी कार्यक्रममै प्रधानमन्त्रीको लागि पत्र पठाउन आह्वान गरेको हो ।

प्रकाशित मिति: : 2020-02-27 11:31:49

प्रतिकृया दिनुहोस्