प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब, पार्टी निर्णय कार्यान्वयन नभए दुर्घटना

वामदेवको मनोनयनपछि मात्र खतिवडाबारे सोच्नूस्

शुरोजङ्ग पाण्डे

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् । पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालको चेतावनीयुक्त सुझाब छ ।

बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा नेता गौतमलाई लैजाने सर्वसम्मत निर्णय गरेको थियो । तर, त्यसको केहीबेरमै प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै गौतमलाई सिफारिस नगरेर खतिवडालाई नै निरन्तरता दिने सन्देश नेताहरूलाई दिएका थिए । त्यसलगत्तै उनले नेता नेपालसँग करिब दुई घन्टा छुट्टै छलफल गरेका थिए ।

गौतमलाई मनोनीत नगरे पार्टीभित्र अराजकता संस्थागत हुने र त्यसले दुर्घटना निम्त्याउने भन्दै नेता नेपालले तत्कालका लागि निर्णय कार्यान्वयनमा लैजान ओलीलाई सुझाब दिएका थिए । ‘तपाईंका असहमति थिए भने विधिका हिसाबले बैठकभित्रै राख्नुपथ्र्यो, बैठक सकिएपछि मान्दिनँ भन्ने कुराले राम्रो सन्देश गएन, त्यसैले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्नुबाहेक तपाईंसामु अब अर्को कुनै विकल्प छैन,’ नेपालले ओलीलाई दिएको सुझाब उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई वामदेव कमरेडलाई सिफारिस गरेर पार्टी निर्णय कार्यान्वयन गर्नुस्, युवराज खतिवडाका सन्दर्भमा पछि सोच्ने गरी निष्कर्षमा पुग्न सकिन्छ ।’ 

प्रकाशित मिति: : 2020-02-28 20:48:32

प्रतिकृया दिनुहोस्