गलकोटमा ठडिए १५ मूर्ति (तस्बिरसहित)

बागलुङ बजारदेखि करीब दस कोस दक्षिण–पश्चिममा अवस्थित गलकोट नगरपालिका ५ हरिचौर टेउवामा गत फागुन ५ देखि जारी गलकोट अन्तराष्ट्रीय मूर्तिकला कार्यशाला बुधबार सम्पन्न भएको छ । 

ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरि गरिएको अन्र्तराष्ट्रिय कार्यशालाको बुधवार नै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यशालाको समापन गरे ।

गण्डकी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको हो । अन्तराष्ट्रिय मुर्तिकारहरुको संस्था ‘Aiesm’ले कार्याशालालाई नेपालको बिकट भूगोलमा फरक  सोचका साथ कार्यशाला सफलतापूर्वक सम्म्पन्न  गरेकोमा यो मान्यता दिएको आफ्नो वेभ साइडमा जनाएको छ । बुधबार उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरिएको थियो । 

कार्यशालाले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मुर्तिकार ओम खत्रीले बताए । ११ देशका १५ मूर्तिकार सम्मिलित कार्यशाला १५ दिनसम्म संचालन भएको थियो ।

गलकोट सेरोफेरोबाटै संकलन गरिएका ढुङ्गाहरूमा मूर्तिकारले कला आकृति भर्ने काम गरेका छन\  । ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्य सहित    कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए  ।

ब्राजिलका जर्ज लुइजले घुम्टे पहाडलाई ढुंगामा कुँदेर सुन्दर मुर्ति तयार गरेका छन् । जहाँ घुम्टे लेकको ९ हजार ३ सय ९३ फिट उचाइमा रहेका सिद्ध भैरव मन्दिरदेखि त्यस तलका बन जंगल, पोखरी, गाउँवस्ती सबै मूर्तिमा प्रष्ट देख्न सकिन्छ । गाउँकै खोलाबाट ल्याइएको दुई टन भन्दा बढीको ठुला ढुंगा कडा खालको भएकाले मूर्ति बनाउन केही कठिनाई भए पनि नेपालको प्रकृतिले सबै कुरा बिर्साएको जर्ज बताउँछन् ।

अहिले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको गलकोट नगरपालिकाका अधिकाशं घरका बासिन्दाको जापान गन्तव्य बनेको छ । जापानबाट आएका मूर्तिकार जुनीचिरो सुगीमोताले नेपाल जापानको द्धैत्य सम्बन्ध र रेमिट्यान्सले पारिरहेको असरको प्रतिकात्मक मूर्तिकला "सटल फिरिरि" तयार गरेका छन् । 

‘म जापानका अधिकाशं रेष्टुरेन्टहरुमा पुग्दा त्यहाँ नेपाल र त्यसमा पनि गलकोटका धेरै युवायुवतिलाई भेट्ने गरेको छु,’ जुनीचिरोले भने, ‘अहिले गलकोट र घुम्टेको  काखमा आएर मूर्ति बनाउँदा यो गाउँ, यो ठाउँ र ती नेपालीहरुलाई सम्झिएर मूर्ति बनाउने प्रयास गरिरहेको छु ’ उनले भने ।

जुनिचिरो विश्वमै चर्चित मूर्तिकार हुन् । उनको सम्मानमा जापानको एउटा शहरको नाम जुनिचिरोको नामबाटै राखिएको छ भने उनको जापानमा आफ्नो निजी संग्राहलय पनि रहेको छ ।

भारतका प्रसिद्ध मूर्तिाकार टुटु पटानायक पनि सुन्दर घुम्टेको आँगनमा उभिएर अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारसँग सहकार्य गर्दै कलाकर्म गर्न पाउँदा आफू प्रफूल्लित भएको प्रतिक्रिया दिए । उनले पूर्विय मिथमा आधारित हनुमानले पहाड बोकेर हिँडेको मूर्तिकला सिर्जना गरेका छन् ।

त्यस्तै नेपालका कलाकार राजन काफ्लेले प्रकृति र आधुनिकताले परेको प्रभाव,  असर र असन्तुलनलाई कलाको बिषय बनाएका छन\  भने अर्का नेपाली मूर्तिकार राजु पिठाकोठीले जंगल, जनावर र जललाई सुन्दर ढङ्गले कुँदेका छन्। 

नेपालकै बुद्ध थारुले बुद्ध मूर्ति बनाएका छन\  भने प्रविण श्रेष्ठ ले गणेश भगवानलाई फिउजन गरी प्रोटेट गरेका छन\  । कार्यशाला स्थलमा ठडिएका सबै मूर्तिहरूले भिन्ना भिन्दै भाव र अर्थ सम्प्रेषण गरेको पाइन्छ ।

कार्यशालामा उपस्थित कलाकारहरू नेपाल आएर यहाँको प्रकृति, संस्कृति, गाउँले जीवन र हँसिला नेपालीका बिच बसेर उनीहरूसँग संवाद- संगत गर्दै काम गर्न पाउँदा आफूहरू अत्यन्तै खुशी भएको प्रतिक्रिया दिए ।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे सहभागी छन् । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: : 2020-03-07 00:50:29

प्रतिकृया दिनुहोस्