चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए

एजेन्सी

काठमाडाै‌ं

चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन्। तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ। 

गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य शहर उहानमा लगातार दोस्रो दिन एकमात्र सङ्क्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।  

हुबेई प्रान्तको वरिपरि नयाँ सङ्क्रमण विगत सात दिनमा ९ भन्दा कम सङ्क्रमित पाइएको बताइएको थियो। फेबु्रअरीको शुरुमा चीनको हुबेइ प्रान्तको उहान शहरमा दिनहूँ हजारौंको संख्यामा कोरोना भाइरसका सङ्क्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र विरामी पाइएको सो आयोगले जनाएको छ।  

उहान शहरमा गत जनवरी २३ मा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो। तर हालैका दिनहरुमा प्रान्तको केही भागहरुमा प्रतिबन्धहरुमा सहजता आएको छ। चीनले यो भाइरसको फैलावटलाई ‘मौलिक रुपमा रोकेको’ जनाएको छ।

हाल चीनमा स–साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन्। तर बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ। बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ। 

सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन्। दश चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ। 

चीनले गत बुधवार ११ जनाको मृत्यु भएको जनाएको  छ। चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन्। 

प्रकाशित मिति: : 2020-03-19 04:43:54

प्रतिकृया दिनुहोस्