मध्यपुरथिमि नगरपालिकामा ‘क्विक रेपिड रेस्पोन्स’ टोली

निरज बाडे

भक्तपुर

मध्यपुरथिमि नगरपालिकाले कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ‘क्विक रेपिड रेस्पोन्स’ टोली तयार पारेको छ। स्वास्थ्य संकटका बेला परिचालन गर्नको लागि डा. दीक्षा न्यौपाने र डा. विजयकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार पारिएको हो।

टोलीले सम्भावित कारोना सङ्क्रमितको स्वास्थ्य परीक्षणलगायतका बारेमा आवश्यक कार्ययोजना बनाएर सुरक्षितरूपमा सेवा दिने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। यस्तै नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कसैलाई पनि अत्यावश्यक अवस्थाबाहेक बिदा नदिने निर्णय गरेको छ।

नगरप्रमुख श्रेष्ठका अनुसार नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा ६ श्यैयाको आइसोलोसन वार्ड, भेन्टिलेटरसहितको दुई श्यैयाको आइसीयू तयार पारिएको छ। डेण्टल र फिजियोसेन वार्ड राख्न बनाएको नयाँ भवनको दुवै तलालाई आवश्यकता पर्दा तत्कालै ३० श्यैयाको आइसोलेसन वार्ड बनाउने गरी तयारी अवस्थामा राखिएको छ।

यसैगरी बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रको ५० जना क्षमता रहेको सुविधासम्पन्न आवासीय भवनलाई क्वारेन्टाइन बनाइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए। 

नगरपालिकाले नयाँ एम्बुलेन्सलाई कोरोना आशङ्का गरिएका वा सङ्क्रमितका बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेको छ। एम्बुलेन्सलाई किटाणुमुक्त बनाउने र एम्बुलेन्स चालकसँग बिरामीको सम्पर्क नहुने गरी तयार पारिएको छ।

त्यस्तै कोरोना भाइरस भए/नभएको परीक्षण गर्न सक्ने ‘पोलिमराइज चेन रिएक्सन’ (पिसीआर) मेसिनसहित नगरपालिकाले ल्याब स्थापना गरेको छ। नगरपालिकाले आफ्नो अस्पतालमा नौ सेट कोरोना सङ्क्रमित बिरामीको उपचारमा लगाइने पोशाक पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपीइ) ल्याएर त्यो लगाउने र उपचार गर्नेबारेमा स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको छ। 

नगरभित्र सञ्चालित अस्पताललाई मास्क, सेनेटाइजर, ज्वरो नाप्ने थर्मल गन, पिपिइ अर्थात् पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट पोशाक, पिपी नाइन्टिनाइन मास्क वितरण गर्ने भएको छ।

प्रकाशित मिति: : 2020-03-22 02:03:01

प्रतिकृया दिनुहोस्