रुगंटालाई संक्रमण भएकाे भन्ने खबरमा भारतीय अस्पताल र परिवार जिम्मेवार: सचिव पुस्कर

प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्णहरी पुस्करले वीरगञ्जका उधाेगपति शिवकुमार रुगंटालाई कोरोना भाइरसकाे संक्रमण भएको भन्ने समाचार भारतकाे अस्पतालको गलत सूचना तथा पारिवारीक लापरवाहीका कारण अफवाह फैलिएकाे बताएका छन्।

बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले कोरोना भाइरसको परीक्षण १,२ र ३ गरी ३ लेभलमा हुने र पहिलो लेभलमा संक्रमणको आशंका देखिएकै आधारमा अफवाह उडेकाे बताए। उनले दोस्रो र तेस्रो परीक्षणमा कुनै आशंका नरहेको पुष्टी पनि भइसकेकाे बताए। 

उद्योगी रुगंटामा पहिलो लेभलको परीक्षणबाट परिवारभित्र खैलाबैला मच्चिएको र अस्पतालले सबै परीक्षण नगरी सूचना चुहाउँदा समस्या भएको उनले बताए। रुगंटालाई संक्रमण भएकाे खबर भारतीय न्युज च्यानलले पनि प्रसारण गरेका थिए। यस्तै रुगंटाका भाईले पनि सुरुमा संक्रमण भएकाे बताएका थिए। 

यसैबीच आइतबार साँझ वीरगञ्जमा कोरोनाको संक्रमित भेटिएको हल्ला फैलिएपछि मुख्य नाका भन्सार बिन्दुमा स्वास्थ्य चेकजाँच गर्दा रुघा,खोकी र ज्वरो देखिएका ६९ जनालाई ‘होम क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएकोमा केहीले अवज्ञा गरेपछि प्रहरीले बल प्रयोग समेत गर्नुपरेको पुस्करले बताए। 

प्रकाशित मिति: : 2020-03-24 11:16:36

प्रतिकृया दिनुहोस्