लुक्लाबाट ३० पर्यटक र २८ ट्रेकिङ गाइडको उद्धार

लुक्लामा अलपत्र परेका ३० जना पर्यटक र २८ ट्रेकिङ गाइडहरूको आइतबार उद्धार भएको छ। नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिस्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारीलगायत नेपालीहरूलाई पनि उद्धार गरिएको हो। 

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरू लुक्लामा अलपत्र परेका अमेरिकन र बेलायती नागरिकहरूलाई यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरी काठमाडौं ल्याएको हो। ‘रिलिफ फ्लाइट’ सञ्चालन गरिएको चौथो दिन भएको एयरलाइन्सले जनाएको छ । 

शनिबार दिउँसो १५ अमेरिकनलाई लुक्लाबाट उद्धार गर्न तारा एयरको विमान तयारी अवस्थामा रहे पनि खराब मौसमका कारण रद्द भएकाले सो उडान आजका लागि सारिएको थियो । 

काठमाडौंस्थित बेलायत र अमेरिकी दूतावासले आफ्ना नागरिकको उद्धारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर पर्यटकहरू उद्धारका लागि १८ सिट क्षमता भएको नाइन एन एएलओ ट्वीन अटर विमान लुक्ला पठाइएको एयरलाइन्सले जनाएको छ । 

यसअघि, यती एयरलाइन्सले शुक्रबार र शनिबार गरी पोखराबाट ६० पर्यटकलाई उद्धार गरी काठमाडौं ल्याएको थियो । साथै, तारा एयरले चैत १३, १४ र १५ गते गरी लुक्लाबाट जम्मा ८१ पर्यटकलाई उद्धार गरिसकेको जनाएको छ । 

प्रकाशित मिति: : 2020-03-30 02:26:24

प्रतिकृया दिनुहोस्