कठिन समय राज्य किन चाहिन्छ?

फ्रान्समा यति बेला कोरोनाको संक्रमण पेरिस वरपर बेस्सरी फैलिएको देखिन्छ। अस्पताल सबै भरिएका छन् । स्वास्थ्यकर्मीलाई परिस्थित सम्हाल्न हम्मेहम्मे परेको छ । नागरिकमा यति अभूतपूर्व एकता सायदै देखिएकाे थियाे। सबैजना सरकारी नियमपालना गरिरहेका छन्।

मानिसमा देखिएको दयालुपनले पटक पटक अरुको मन पगाल्छ । सबैमा कसरी स्वास्थ्यकर्मीलाई मद्दत गर्ने भन्ने भावना जागृत भएको देखिन्छ । हरेक दिन बेलुका ८ बजे उनीहरुको सम्मानमा ताली बजाउने गरिन्छ। कोरोना संक्रमणअगाडि दैनिक हजारौँ मानिस चढ्ने आइफल टावरमा दिनहुँ स्वास्थ्यकर्मीको सम्मानमा धन्यवाद शब्द लेखेर बाल्ने गरिएकाे छ। 

सरकारले स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो होस् भनेर उनीहरुका छोराछोरीलाई स्कूल र शिशु स्याहार केन्द्र लाने ब्यवस्था मिलाइएको छ । उनीहरुलाई काममा जान सजिलो होस् भनेर सार्वजनिक यातायातका साधन चलिरहेका छन् ।  बरु बस रित्तै गुडुन् तर काममा जानेलाई अप्ठेरो नहोस् भनेर यातायतका साधनहरु गुडाइएको छ। 

नागरिक स्तरबाट कतिपयले आँफै खानेकुरा बनाएर स्वास्थ्यकर्मीलाई अस्पतालमा लगिदिएको पाइन्छ । कतिपय मानिस आफूसँग भएका स्वास्थ्य सामाग्री सरकारलाई दिइरहेका छन्। कतिपयले स्वतस्फूर्त मास्क बनाएर दिएका छन् । शहरमा आफ्ना अपार्टमेन्ट हुनेले स्वास्थ्यकर्मीलाई नि:शुल्क अपार्टमेन्ट छाडिदिएर आफूहरु गाउँको घरमा सरेका छन्। 

चिकित्सा पेशा अपनाएका तर राजनीति तथा बिभिन्न क्षेत्रमा काम गरिरहेकाहरु समेत अहिले स्वास्थ्यकर्मीलाई सहयोग गर्न पूर्ववत काममा फर्केका छन् । 
आज मात्र पेरिस महानगर नजिकको अर्को शहर भिल पारिसिस भन्ने शहरका नगरप्रमुखले आफ्नो क्षेत्रमा रहेका सुपरमार्केटमा बिहानको पहिलाे समय बृद्धबृद्धालाई किनमेल गर्न छुटाइदिएका छन् । जसले गर्दा बृद्धबृद्धाले भिडभाडबाट टाढा रहेर आरामले सामान किनमेल गर्ने मौका पाएका छन् र नगरप्रमुखले यस्तो सेबा दिएबापत सरकारलाई धन्यवाद दिएका छन् । 

आफन्त गुमाएका परिवारका मानिसले समेत सरकारलाई धन्यवाद दिएका छन् । अन्तिम स्वास फेर्दै गरेका बेला नर्स तथा चिकित्सक साथमै रहेर सेवा दिएको भन्दै उनीहरु सरकारप्रति अनुग्रहित छन् र सबैलाई घरभित्रै बसिदिन अनुरोध गरिरहेका छन्।

यति बेला सरकारसँग कुनै गुनासाे छ भने स्वास्थ्य साम्राग्री अपुग मात्र हाे। तर पनि आफूसँग भएका श्रोतसाधन प्रयोग गरेर स्वास्थ्यकर्मीले ज्यान जाेखिममा राखेर सेवा दिइरहेका छन्।  सरकार पनि कोरोना संक्रमण फैलिएपछि असाध्यै पारदर्शी ढंगले प्रस्तुत भएको छ र आफ्ना कमजोरी नागरिकलाई नलुकाइकन भन्ने गरेको छ । यसले सरकारप्रति जनताकाे बिश्वास बढेको देखिन्छ। र कठिन समयमा राज्य किन चाहिन्छ भन्ने स्पष्ट सन्देश पनि गएकाे छ।
 

प्रकाशित मिति: : 2020-03-31 00:37:56

प्रतिकृया दिनुहोस्