नेपाली बृद्धबृद्धालाई काेराेनाबाट जाेगाउन बेल्जियम माेडल अपनाउने कि?

‘गुड आफ्टर नुन इचेन्। तिमी केही पिउँछौं ?’ ढोका ढकढक पार्दै प्रश्न तेर्स्याए।

‘पैसा तिर्नु पर्ने हो?’ उनी बोलिन

‘हैन पर्दैन।सित्तैमा हो है’, मेरो प्रतिउत्तर थियो।

‘अ पिउँछु। जुस देऊ प्लिज’, उनले जवाफ फर्काइन्।

‘तिमीले दिएको एक गिलास जुसको लागि धन्यबाद’, इचेन्ले मुस्कुराउँदै भनिन्।

‘तपाईंले धन्यबाद। मलाई होईन डाइरेक्टरलाई दिनुहोस्। यो उहाँको तर्फबाट तपाईंहरूलाई स्पेशल गिफ्ट हो’, मैले जवाफ फर्काए।

यो वार्तालाप दुई दिनअघि स्वयंसेवकको रूपमा काम गर्न जाँदा एउटा आवासीय हेरचाह केन्द्रमा भएको थियो। ७५ वर्षीय इचेन् अहिले केन्द्रमा ‘सेल्फ आइसोलेसन’ मा बसेकी छिन्। उनी जस्तै केन्द्रमा ६० जना छन्। म बसिरहेको क्षेत्रमा रेडक्रसले आपतकालीन स्वयंसेवक चाहिएको भन्दै केही दिनअगाडी मेल पठायो। कोरोनाको कारण काम बन्द भएपछि घरमै बस्नुभन्दा केही समय सेवा गरेर बिताउने उद्धेश्यले मैले आवेदन दिएको थिए। सोही अनुरूप ३ दिन आवासीय हेरचाह केन्द्रमा जेष्ठ नागरिकको सेवामा खटिए।

पहिलो दिनमा नै त्यहाँको स्टाफ र मैले सबैलाई कोठा कोठामा लगेर पेय पदार्थ दियाैं। सबै ७० वर्षभन्दा माथिका थिए। त्यो दिन केन्द्रका डाइरेक्टरले सबैलाई सित्तैमा पेय पदार्थ पिलाएका थिए। धेरैले जुस पिए। केहीले कोला ,बियर र वाइन पनि। सबै कोठाभित्र बन्द जस्तै थिए। बाहिर निस्कन कसैलाई दिइएको थिएन। हामी पेय पदार्थ दिन जाँदै गर्दा कमैको अनुहारमा खुसी देख्न सकिन्थ्यो। किनभने उनीहरूमा स्वतन्त्रता थिएन।

स्वयंसेवकको रूपमा जाँदा केन्द्रमा तितो अनुभब पनि गरेको छु। कतिपय बृद्धहरु बाहिर निस्कन नपाएर हतास देखिन्थे। सबै कुराले पूर्ण भएपनि स्वतन्त्रताको अभाव थियो उनीहरुमा। सधैं बाहिर निस्केर हिँडडुल गर्न कोठा र बढीमा बरन्डासम्म सीमित हुनु परेको थियो। उनीहरुलाई यो अवस्थामा ल्याइपुर्‍याउने एउटै कारण थियो, कोरोना र त्यसको संक्रमण।

बेल्जियममा कोरोना संक्रमणले तिव्रता लिन थालेपछि सरकारले गरेको पहिलो नियमनमा उनीहरू जस्ता बृद्धहरु परेका थिए। सबै आवासीय हेरचाह केन्द्र अर्थात रकम तिरेर बस्न पाइने बृद्धाश्रम ’लकडाउन’ गरिएको थियो। केन्द्रमा  बृद्धबृद्धालाई बाहिर निस्कन बन्देज लगाइएकाे छ।  पुरै युरोप फैलिएकाे कोरोना संक्रमणमा यही उमेर  समूहका व्यक्तिहरुकाे ज्यान अत्याधिक जान थालेपछि बेल्जियम सरकारले  उनीहरूको सुरक्षाकाे प्रत्याभूति गराउन कडा नियम लागू गरेकाे छ। बेल्जियममा हालसम्म मर्नेको तथ्याङ्कमा बृद्धहरुकै संख्या बढी छ। कोरोना संक्रमणका कारण केही हेरचाह केन्द्रमा उनीहरूको मृत्यु भइसकेको छ।

धेरै बृद्धहरु आवासीय हेरचाह केन्द्रमा बस्ने गर्दछन्। यसरी बस्दा उनीहरूले केन्द्रलाई निश्चित रकम बुझाउनु पर्ने हुन्छ। खाने बस्नेदेखि डाक्टर र नर्स लगायत केयर गिभरको सुविधा उनीहरूलाई हुने गर्दछ। नेपालमा जस्तो छोराछोरीसँग सँगै बस्ने भन्ने यहाँ कम मात्रामा हुने गर्दछ। नेपालको जस्तो सामाजिक जीवन बेल्जियममा कमै देख्न पाइन्छ। 

आवासीय हेरचाह केन्द्रमा यसरी काम गरेको मेरो पहिलो अनुभव थियो। काम गर्दै जाँदा मलाई घरमा रहेका आफ्नै हजुरबुवा र हजुरआमाको झल्झली याद आयो । यहाँ रहेका सबैमा आफ्नै हजुरबुवा र हजुरआमाकाे अंश पाउन थाले। अनि मैले यो तीन दिनमा नेपालमा रहेका लाखौं जेष्ठ नागरिक अर्थात् हजुरबुवा र हजुरआमालाई सम्झे। विशेषत:  कोरोनापछि उहाँहरुको स्वास्थ्यस्थिति प्रति बढी चिन्ता लाग्न थालेको छ। विस्तारै कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गर्दा नेपाल सरकारले उनीहरूको स्वास्थ्य प्रति विशेष ध्यान दिनु जरुरी देखिन्छ।

कोरोना संक्रमित देश इटाली र स्पेनमा बृद्धहरुको अवस्था निकै नाजुक देखियो।यी देशमा कोरोनाबाट बढी पिडीत ७० वर्ष माथिका देखिए। जसले गर्दा अस्पतालले समेत उमेर समूह छुट्याउँदै उपचार गर्न थाल्यो। इटालीमा बृद्धलाई भन्दा जवानको उपचार प्राथमिकतामा पर्यो। स्पेनमा पनि सोही किसिमको अवस्था सृजना भएको छ।

नेपालमा धेरै जसाे जेष्ठ नागरिक आफ्नै छोराछोरीसँग घरमै हुन्छन्। घरमा हुनेको हेरचाह राम्रैसँग हुने निश्चित देखिन्छ तर जो विभिन्न बृद्धाश्रममा बसिरहेका छन्, उनीहरुको अवस्था कोरोनापछि त्यतिकै दयनीय पनि हुनसक्छ। उनीहरूलाई उचित संरक्षण नेपाल सरकारले दिनु पर्दछ।  हैन भने इटाली र स्पेनको अवस्था नेपालमा नदोहरिएला भन्न सकिँदैन।

कोरोना बिरामी बढ्न थालेपछि बेल्जियममा स्वास्थ्यकर्मीको अभाव खटकिन नदिन सरकारले स्वयंसेवामा इच्छुकलाई आवहान गरेकाे छ। त्यसको लागि बेल्जियममा कार्यरत विभिन्न संघसंस्थामार्फत आवेदन दिन भनिएको थियो। जसमा एकै दिनमा १० हजार बढीले आवेदन दिएका छन्। अहिले ती स्वयमसेवकलाई विभिन्न आवासीय हेरचाह केन्द्र तथा बृद्धाश्रममा खटाइएको छ।

नेपालले पनि बेल्जियमको सिको गर्न सक्छ। स्वयं सेवकको आवेदन मागेर उनीहरूलाई आफ्नो क्षेत्रमा खटाउन सक्दा धेरै उत्तम हुने देखिन्छ। कोरोना नियन्त्रणको लागि यस्ता स्वयंसेवकले आफ्नो क्षेत्रमा सकेको सहयोग गर्नेछन्।

बेल्जियममा मानिसहलाई सकभर घरभित्र बस्न आग्रह गरिएको छ। आपतकालीन सेवा अस्पताल,केयर सेन्टर, वारुण यन्त्र,पुलिस,हुलाक सञ्चालनमा छन्। अस्पतालमा कार्यरत डाक्टर, नर्स, केयर गिभर लगायत सरसफाईमा काम गर्नेलाई सम्मान स्वरूप घरघरमा सेतो लुगा झुन्ड्याइएको छ। विभिन्न ब्यक्ति तथा संस्थाले विभिन्न क्रियाकलापबाट उनीहरुकाे कामकाे सम्मान गरेका छन्।

यो कार्यको सिको नेपालमा गर्दा पनि स्वास्थ्यकर्मीलाई बढी हौसला पुग्ने देखिन्छ। बेल्जियम जस्तो सम्पन्न मुलुकमा सरकारले उनीहरू प्रति आफ्नो दायित्व सकेसम्म पूरा गर्ने प्रयास गरेको छ। तर नेपालमा यो सबै सम्भब पनि छैन। देशभरी रहेका ६५ वर्ष माथिका बुवाआमालाई कोरोना संक्रमण भएको अवस्थामा उनीहरूको जीवन पक्कै पनि सहज हुनेछैन। नतिजा भयाभह हुनेमा दुईमत देखिँदैन। त्यसैले सरकारले समयमै यसतर्फ ध्यान पुर्‍याउने हाे कि?
 

प्रकाशित मिति: : 2020-03-30 09:57:00

प्रतिकृया दिनुहोस्