अपराधका घटना नियन्त्रण गर्न ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालन

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस महामारीको त्रास फैलिएसँगै हुनसक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।

यो एपबाट घरेलु हिंसा, अपहरण, लागगुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विस्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा प्रयोगकर्ताहरूबाट जानकारी प्राप्त गर्न सकिने जनाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनाको त्रासमा हुन सक्ने अपराधका घटना नियन्त्रण गर्न आवश्यक सूचना सहयोगका लागि एप प्रयोगमा ल्याइएको बताए।

यो एप मार्फत् कोभिड–१९ का सम्भावित संक्रमित व्यक्ति वा जोखिममा रहेका व्यक्तिको बारेमा सूचना तथा जानकारी दिन वा लिन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। लक डाउन उल्लंघन, कालोबजारी नियन्त्रण र राहतको अभाव भएकाहरूको विषयमा पनि सूचना दिन सकिने छ।

कोरोनाबाट जोगिन सर्वसाधारणले अपनाउनु पर्ने स्वास्थ्य तथा सरसफाइ सतर्कता सम्बन्धी सन्देशमूलक सामग्रीहरु समेटिएको नेपाल पुलिस मोबाइल एपलाई डाउनलोड गरी अधिकतम प्रयोगमा ल्याउन प्रहरीले सर्वसाधारण नागरिकमा आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-04-04 09:29:55

प्रतिकृया दिनुहोस्