सलमानले भने– ‘हो म कोरोनासँग डराएको छु। बढी बहादुर नबन्नुस्।’

एजेन्सी

नयाँ दिल्ली

बलिउड सुपरस्टार सलमान खानले कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा आवश्यकता भन्दा बढी बहादुरी नदेखाउन सबैसँग अपील गरेका छन्। उनले हिन्दी फिल्म सोलेको एउटा चर्चित संवाद ‘जो डर गया, सम्झो वो मर गया’ दोहर्‍याउँदै आफू कोरोना भाइरसबाट डराएको र ‘सेल्फ आइसोलेसन’ मा बसेको बताएका छन्। 

उनले कोरोनाविरूद्ध बढी बहादुरी नदेखाउन र बाहिर ननिस्किन पनि सर्वसाधारणसँग अपील गरेका छन्। बलिउडका भाइजानले तीन सातादेखि आफूले आफ्नो बुवा सलिमको अनुहार नदेखेको र बुवा घरमा एक्लै भएपनि कोरोनाको डरका कारण बाहिर बसिरहेको बताए। 

‘हामी डराएका छौं। यहाँ ‘जो डर गया, सम्झो वो मर गया’ डाइलग लागु हुँदैन। धेरै बहादुरीका साथ भनिरहेको छु, हामी डराएका छौं’, उनले सन्देशमा भनेका छन्। 

उनले कोरोनाविरूद्ध जो डराए, उनीहरू बाँचेको उदाहरण दिएका छन्। 

उनले भाई सोहेल खानका छोरा निरफानसँग बसेर यो सन्देश दिएका थिए। 
 

प्रकाशित मिति: : 2020-04-07 10:30:16

प्रतिकृया दिनुहोस्