विदेशमा जोखिम अवस्थामा रहेका नागरिकको उद्दार गर्न सर्वोच्चको आदेश

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।

विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै सर्वोच्चे नागरिकलाई त्यसबाट जोगाउनका लागि नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको छ ।

‘केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाव दिइरहेको र कतिपय वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्काई दिन आफ्नो सरकार गुहारीरहेको भनी रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुले हेरेर बस्न सक्ने देखिदैन’ आदेशमा भनिएको छ ।

महामारीको अवस्थामा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी थप प्रयास गर्न आवश्यक देखिएको सर्वोच्चले उल्लेख गरेको छ ।

प्रकाशित मिति: : 2020-04-16 17:15:17

प्रतिकृया दिनुहोस्