दूध बिक्री नभएपछि ट्याङ्करबाटै निःशुल्क बाँड्न थालियो

 कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण उद्योग, व्यवसाय बन्द हुँदा बजारमा कतिपय उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।

आपूर्ति कम भएपछि वस्तुको मूल्य पनि बढेको छ । तर, दूधको हकमा भने अवस्था उल्टो छ । दूधको बढी खपत हुने चिया पसल, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्कुल बन्द भएपछि बिक्री ७० प्रतिशतले घटेको छ । उत्पादित दूध बिक्री नभएपछि किसान र डेरी उद्योगहरूलाई के गर्ने भन्ने पिरलो छ ।

रुपन्देहीको एक दुग्ध सहकारीले भने लकडाउन सुरु भएदेखि नै निःशुल्क दूध बाँड्दै आएको छ ।

सैनामैना नगरपालिका–१० सालझण्डी स्थित सालझण्डी दुग्ध उत्पादक सहकारीले किसानबाट खरिद गरेको दूध बिक्री नभएपछि सर्वसाधारणदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीसम्मलाई निःशुल्क बाँडेको छ । डेरीले साढे पाँच सय किसानबाट दैनिक चारहजार पाँच सय लिटरदेखि पाँचहजार लिटरसम्म दूध संकलन गर्छ ।

‘किसानको दूध खरिद नगर्ने कुरा भएन, खरिद गरेको दूध आधा मात्रै बिक्री हुन्छ’ डेरीका अध्यक्ष तिलकराम घिमिरेले भने, ‘खेर फाल्नुभन्दा घाटा सहेरै नबिकेको दूधको क्रिम निकाल्छौँ र निःशुल्क बाँड्छौँ ।’

सुरुका एक दुई दिन सहकारीबाटै दूध बाँडेको भए पनि भिड थाम्न नसकेपछि सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्की र वडा अध्यक्षहरूलाई फोन सम्पर्क गरेर वडा कार्यालय मार्फत बाँड्न थालेको घिमिरेले बताए । दैनिक सरदर दुईहजार लिटरका दरले दूध बाँडिने गरेको छ । सहकारीले आइतबार मुख्यमन्त्री शंकर पोखरेलको निवासमै र अन्य मन्त्रालयको प्राङ्गणमै ट्याङ्कर पुर्‍याएर दूध बाँड्यो ।

‘कहिले नगरपालिकामा, कहिले क्वारेन्टाइनमा त कहिले वडावडामा ट्यांकर पुर्‍याएर बाँड्यौं’– अध्यक्ष घिमिरेले भने । कृषिमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले यसरी निःशुल्क दूध बाँडेकोमा खुसी व्यक्त गरेका छन् ।

उनीहरूले लकडाउनको अन्त्य भएपछि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएको सहकारीका अध्यक्ष घिमिरेले सुनाए ।

प्रकाशित मिति: : 2020-04-20 12:18:00

प्रतिकृया दिनुहोस्