रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

प्रजातन्त्र सेनानीसमेत रहेकी उनको बिहीबार राति काठमाडौैंमा निधन भएको पारिवारिक स्रोतले बताएका छन्। रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन्।

सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा जन्मेकी उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। उनको बाल्यकाल भने बनारसमा बित्यो। उनको विवाह २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी रानुदेवीलाई तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिल्स एरियामा २००४ सालमा रेडियो स्थापना भएपछि कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए। त्यतिबेला उनको उमेर १६ वर्षको थियो। उनले बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट गीत गाउने गर्थिन्।

२००७ मा प्रजातन्त्रको स्थापनापछि काठमाडौंमा रेडियो नेपालको स्थापना गरिएको थियो। केही समयका लागि रानुदेवी काठमाडौैं आएर रेडियो नेपालबाट गीतहरु गाएकी थिइन्।

त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुईवटा गीत क्रान्तिकारी थिए। त्यसपछि शुरु भएको पञ्चायती व्यवस्थामा उनका ती क्रान्तिकारी गीत प्रतिबन्धित गरिएका थिए।

२०६३ सालमा उनका बारेमा '५६ वर्षपछि.....' नामक सांगीतिक वृत्तचित्र बनाइएको थियो। वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका थिए। 

इतिहासमा स्नात्तोकोत्तर गरेकी रानुले दुईदशक लामो समयसम्म विराटनगरको वालिका माध्यामिक विद्यालयमा अध्यापन गरेकी थिइन्। नेपालका हरेक क्रान्तिमा सहभागी उनी सुरूदेखि नै नेपाल महिला संघमा आवद्ध थिइन्। उनी नेपाल महिला संघ मोरङकी जिल्ला अध्यक्ष रहेकी थिइन्। 

उनी एक राजनीतिक परिवारकी सदस्य थिइन् । उनकी जेठी दिदी नोना कोइराला नेपाली कांग्रेसकी स्वनामधन्य नेता थिइन्। 

उनका दुई छोरी अर्चना र अल्पना छन् भने एकछोरा अविन । अविन र अर्चना अमेरिकामा रहेका छन् भने उनी कान्छी छोरी अल्पनाका साथ काठमाडौैंमै बस्दै आएकी थिइन्।

प्रकाशित मिति: : 2020-05-01 07:27:44

प्रतिकृया दिनुहोस्