अन्नपूर्ण पदयात्रामा हराइरहेका सबै ४ कोरियन र ३ नेपालीको शव फेला

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकसहित हराइरहेका सबै ७ जनाको शव फेला परेको छ।

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि उनीहरूको शव नेपाली सेनाको विशेष फौजीको उद्धार टोलीले फेला पारेको हो।

नेपाली सेनाको पश्चिम पृतना हे.क्वा.को समन्वयमा श्री विशेष फौज बाहिनी अन्तर्गत पोखराको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले मिति २०७७  वैशाख १९ गते अन्तिम १-१ जना कोरियन र नेपालीको फेला पारि वैशाख २० गते शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको जानकारी दिएको छ। यसअघि नै २ नेपाली गाइड र तीन कोरियन पर्यटकको शव नेपाली सेनाको विशेष टोलीले फेला पारेको थियो।

नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको शव फेला परेको हो।

गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए। घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए।

घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको बताइन्छ।

टानले घटनालगत्तै सातको उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो । सो टोलीले त्यहाँको स्थलगत अवलोकन गर्दा पर्यटक हराएको आशङ्का गरिएको स्थलमा बाक्लो हिउँ जमेका कारणले हिउँ पग्लन कम्तीमा पनि एक महिना समय लाग्ने र खोजीमा कठिनाइ भएको जनाएको थियो।

कोरियाली पर्यटकहरु काठमाडौंको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेसक्याम्पसम्मको पदमार्गमा निस्केका थिए ।

कोरियाली पर्यटक ११ जनाको समूहमा थिए । तीमध्ये ७ जना यसअघिनै सम्पर्कमा आएका थिए।

प्रकाशित मिति: : 2020-05-02 10:26:37

प्रतिकृया दिनुहोस्