अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने भनी दायर गरेको मुद्दा अदालतले खारेज गरेको छ।
गएको वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी सकर फेडेरेसन (युएसएसएफ)विरुद्ध उजुरी दिएका थिए।
समान पारिश्रमिक दिनु पर्ने कानून अन्तर्गत आफूहरुले ६६ मिलियन डलर क्षतिपूर्ति पाउनु पर्ने माग उनीहरुले गरेका थिए। तर पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले अस्वीकार गरेका छन्।
उनले महिला खेलाडीहरुलाई पुरुष टिमको तुलनामा फरक व्यवहार भएको कुरा स्वीकार गरेका छन्। त्यसको सुनुवाई लस एन्जलसमा आउँदो जुन १६ हुने तय भएको छ।
खेलाडीहरुकी प्रवक्ता मोली लेविन्सनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने तयारी रहेको बताएकी छन्। ‘हामी आश्चर्यमा परेका छौँ र निराश छौं। समान पारिश्रमिकका लागि गरेको कडा मेहनत यसै खेरजान दिने छैनौँ,’उनले भनेकी छन्।
आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने पक्का जस्तै रहेका जो बाइडेनले महिला फुटबल टोलीसँग समान पारिश्रमिकका लागि गरेको लडाई बिचमै नछाड्न आग्रह गरेका छन्।
अमेरिकाको महिला टिम गत वर्ष महिला विश्वकप जितेको थियो। यस्तै महिला टिमले पाँच पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन्।