पत्थरकी पत्नी

पत्थरकी पत्नी

विद्यालयको वार्षिक परीक्षा सुरु हुन एक हप्ता मात्र बाँकी थियो। प्रश्नपत्रहरु टाईप गर्ने जिम्मेवारी लिएकी थिएँ। लाइनको गडबडी त्यही हो, जतिबेला लाइन आउँछ त्यतिबेलै टाइप नगरे प्रश्नपत्रबिनाको परीक्षा होला फेरि। त्यसदिन पनि साढे एघार बजे लाइन आयो। उठेर छिटो—छिटो हात चाल्दै टाइप गर्न थालेँ। एकैचोटी सकेपछि मात्र हात झिकेर यसो घडी हेरेँ रातको दुई बज्न लागेको रहेछ।

बाहिर गएर आएरमात्र सुत्छु भन्ने सोचेर सरक्क ढोका खोलेँ, रातीको समय घरका अरुको नि बिग्रने होकी भन्ने लागेर बिस्तारै ढोका खोलेर बाहिर निस्किँदा नेत्रेले ‘ट्वाइलेटमा भूत बसेको हुन्छ’ भनेको कुरा मेरो दिमागमा झलझली आइरहेको थियो। मनभरि नेत्रेले वर्णन गरेको भूतको चित्र नाचिरह्यो। जब ट्वाइलेटबाट बाहिर निस्केर हेरेँ अगाडिपट्टि रहेको सीता आन्टीको घरमा बत्ती बलिरहेको देखेपछि अलिक ढुक्क भयो। डर पनि केही हदसम्म हरायो। यति रातीसम्म सीता आन्टीको घरमा किन बत्ती बलेको? जिज्ञासा हुँदै सुतेँ। 

सधैं त होइन कहिलेकाँही म राती अबेरसम्म कम्प्युटरमा टाइप गर्थें। जुन दिन मैले सीता आन्टीको घरमा दुई बजेसम्म बत्ती बलेको देखेकी थिएँ, त्यस दिनदेखि जहिल्यै सुत्ने बेलामा यसो झ्याल खोलेर सीता आन्टीको घरमा हेर्थे। प्रायःबत्ती बलेकै देख्थेँ। 

दमक बहुमुखी क्याम्पसबाट आई.एड पास गरेपछि वि.एड पढ्नका लागि मैले इटहरीको जनता क्याम्पसमा एड्मिशन गरेँ। पहाडको सामान्य परिवारबाट आएकी मान्छे म। सहरमा बाँच्नलाई धौ—धौ पर्थ्यो। बिहान कलेज, दिउँसो स्कुल, राती कम्प्युटरमा टाइपिङ अति व्यस्त भएर बाँच्नुपर्ने। यो सहरदेखि मलाई दिक्क लाग्थ्यो। यति नगरे यहाँ प्रत्येक व्यक्तिबाट अपहेलित बन्नुपर्थ्यो। म उनीहरुलाई आफ्ना दुःखहरु देखाएर आफू हाँसोको पात्र बन्न मन पराउँदिनथेँ। किनकि यी सहरका मान्छेहरु पैसा हुनेलाई मात्र सुख हुन्छ र दुःख पनि पैसा हुनेहरुको दुःखमात्र दुःख हो भन्थे।

उनीहरु मेरा बलिया हातपाखुरामा भरिएको बल उनीहरुको स्वार्थ पूरा गर्न प्रयोग गर्थे अनि गाँउले र सोझोपनको फाइदा उठाउनका लागि मात्र फुर्क्याउँदै चिप्लो माया देखाउँथे। म त्यो राम्ररी बुझ्थे। बाहिर हिँड्न पनि त्यति मन पराउँदिनथेँ। अभावले भोकै हिँडेका दिन यो समाजले ममाथि अनेक दोषहरु देखाउँदै यो सहरबाट निकालिदिन सक्छ भन्ने लाग्थ्यो मलाई। त्यही भएर पनि म यो सहरमा बाँच्नलाई, यो सहरको इज्जत ढाक्नलाई, स्वावलम्वी बन्नलाई, संसार हेर्नलाई, मिहिनेती हुनलाई, इमान्दार बन्नलाई र सन्तानमा पनि आफ्नो अनुहार हेर्नलाई पैसा कमाउथेँ। हुन त सहरका कतिपय मान्छेहरूले घरमा सुती–सुती करोडौं कमाएको देख्तें तर त्यो कसरी? तरिका थाहा थिएन। तरिका थाहा हुनु भने म पनि त्यसरी नै कमाउँथें वा के गर्थें त्यो मलाई थाहा थिएन।

म इटहरी चौकदेखि अलि भित्रपट्टि गाउँमा पानीट्याङ्की भन्ने ठाउँमा डेरा बस्थें। टोलको नाम चाहीँ पानीट्याङ्की तर पानीको एकदमै अभाव रहेछ त्याहाँ। बिहान सात बजेदेखि नौ बजेसम्ममात्र ट्याङ्कीमा पानी आउँदो रहेछ र प्रत्येकले हिल ट्याङ्कीमा जम्मा गरेर पानी चलाउँदा रहेछन्। म डेरा बसेकै भोलिपल्ट घरबेटीहरू आफन्त कहाँ पूजामा गएकाले ट्याङ्कीमा पानी भर्न भ्याएनछन्, साढे नौ बजे खाना पकाउन खोज्दा धारामा पानी नभएपछि म अपरिचित नै भए पनि अगाडिपट्टिको घरमा गएर डराई—डराई पानी भर्दै थिएँ। त्यसै बखत चिनजान भएको सीता आन्टीसँग। कहाँ बस्नुहुन्छ, नाम के हो, कहाँदेेखि आउनुभएको भनेर सोध्नुभयो सीता आन्टीले। यसरी इटहरीमा पहिलो चिनजान सीता आन्टीसँग भयो मेरो। म बसेको कोठाको सिधै अगाडिपट्टि थियो सीता आन्टीको घर। मलाई खुल्दुली लागिरहेको थियो सीता आन्टीकहाँ को—को हुनुहुन्छ? के काम गर्नुहुन्छ भनेर। 

बिस्तारै—बिस्तारै म सीता आन्टीसँग नजिकिँदै गएँ। सीता आन्टीको मोवाइल नम्बर लिएँ र कहिलेकाँही मिसकल गर्दिन्थेँ सीता आन्टीले पनि। अलि मीठो सब्जी पकाउनुभयो भने ल्याइदिनुहुन्थ्यो। म पनि पहाडखदेखि आउँदा के—के कोसेली ल्याइदिन्थेँ सीता आन्टीलाई।

सीता आन्टीका श्रीमान् साहित्यकार रहेछन्। साहित्यकार भनेपछि मलाई उनका श्रीमान् सुयोग ‘पत्थर’ देखि साहै्र लाज लाग्थ्यो। पत्थर प्रायः कार्यक्रम छ भनेर टाढा—टाढासम्म पुग्दा रहेछन्। सीता आन्टीमात्र भएको मौका पारेर म पत्थर अंकलका कोठामा सुटुक्क पसेर उनले लेखेका कथा, कविता, नाटक, गजल पढ्थँे। त्यहाँ त्यस्ता—त्यस्ता आर्दशताहरू पाइन्थे कि उनी पत्थर होइनन्, विद्धान पनि उनै हुन्, भगवान् पनि उनै हुन्, संसार हुन्, आमा हुन् भन्ने लाग्थ्यो। मलाई ती रचनाहरूले आदर्श बनेर समाज सेवामा लाग्न प्रेरित गर्थे। 

अब मलाई स्पष्ट भै सकेको थियो कि सीता आन्टीको घरमा रातीसम्म बत्ती बल्नुको रहस्य त उनका श्रीमान् सुयोग पत्थर राति अबेरसम्म साहित्य रचना र अध्ययन गर्दा रहेछन्। मलाई आहारिस लाग्थ्यो सीता आन्टीले सुयोग जस्तै श्रीमान् पाएकोमा। खास सुयोगको बानी व्यवहारबारे त मलाई त्यति थाहा थिएन तर उनका रचनाहरूमा आर्दशता पाइन्थ्यो, श्रृङगारिकता पाइन्थ्यो, प्रेमिल संसार भेटिन्थ्यो, म सुयोग पत्थरलाई त्यही रचनाहरूमा खोज्थेँ, त्यही रचनाको पात्र सम्झिन्थेँ।

म असारदेखि इटहरी आएर बसेकी कति छिटो दसैँ आएछ। म दसैँमा घर आएँ सीता आन्टीको याद आइरहन्थ्यो पहाडको कुना—काप्चामा नमस्तेको टावर पनि टिप्दैनथ्यो। म माथि डाँडामा निस्किएर उनलाई फोन गर्थें।

तिहार सकिए पश्चात म फेरि इटहरी फर्के। मैले सीता आन्टीको लागि सुन्तला, अलैँची र सेलरोटी कोसेली ल्याईदिएकी थिएँ। सीता आन्टी एकदमै खुसी हुनुभयो। मैले ‘अंकल खोई त?’ भनेर सोधेँँ। अंकल त छ नम्बर बुधबारे बहिनीकोमा भाइटीका थाप्न जानुभएको उतै–उतै कार्यक्रममा जानुभएछ भोलिमात्र आईपुग्नुहुन्छ। त्यसदिन दिनभरि नै पानी परिरह्यो। सीता आन्टी र म गफ गर्न थाल्यौँ। सीता आन्टी गर्भवती हुनुभएको रहेछ। मैले बधाई छ है आन्टी, मेरो एउटा सानो साथी थपिने पर्‍यो भने। खुसीले मुस्कुराउनुभयो। बस्दा बस्दै सीता आन्टीले मैले ल्याएको सुन्तला खाऊँ भन्दै लिएर आउनुभयो। मैले एउटामात्र टिपेँ। ‘एउटामात्र खानुहुँदैन अब एउटा त खानैपर्छ’ भन्नुभयो। मैले पनि ‘तपाईले त झन् दुईजनालाई पुग्नेगरी खानुपर्ने टन्न खानु है’ भने दुवैजना हाँस्यौँ एकछिन्।

मलाई सुयोग अंकल र सीता आन्टीको बारेमा सबैकुरा जान्न मन लागिरहेको थियो। त्यसदिन शनिवार थियोे, बाहिर सिमसिम पानी परिरहेको थियो। गफ गर्ने राम्रो मौका ठानेर अलिअलि गर्दै कुरा कोट्याउँदै लगें। हातमा सुयोगले लेखेको ‘उषा किरण’ भन्ने उपन्यास लिएकी थिँए तर पढेकी चाँही थिइन्। “आन्टी तपाई र अंकलको प्रेम विवाह हो?” “अँ प्रेम विवाह नै भन्दा पनि हुन्छ। हाम्रो भेट कलेजमा भएको थियो। मैले सबैभन्दा पहिले वहाँको यही उषा किरण भन्ने उपन्यास पढेकी थिएँ। यो वहाँको पहिलो कृति पनि हो। यस उपन्यासमा उषा र किरण मुख्य पात्र छन्। किरण आदर्श पात्र हो। म उहाँको यो उपन्यासबाट एकदमै प्रभावित भएँ। वास्तवमा म यो उपन्यासको किरण भन्ने पात्रसँग सुयोगलाई दाँजेर हेर्थें। यसरी म उहाँसँग नजिकिँदै गएँ। बिस्तारै—बिस्तारै हामी एकदमै नजिक भयौँ, एकअर्कालाई मन पराउन थाल्यौँ तर व्यक्त चाँही गरेका थिएनौँ। यसै बीचमा सुयोगकी आमा क्यान्सर रोगले खस्नुभएछ। सुयोग चार/पाँच महिना कलेज आउनुभएन। म वहाँलाई सम्झिरहन्थेँ, वहाँकै यादमा ती दिनहरु बिताएँ। पछि उहाँ फेरि कलेज आउनुभयो। 

उहाँकी आमा खस्नुभएको पनि एकबर्ष भै सकेको थियो। एकदिन उहाँले मलाई “तिमीसँग केही कुरा गर्नु छ आज मेरै घरमा खाना खाऊँ, साँझमा फर्किदा कसो होला?” मलाई पनि ‘के खोज्छस् कानो आँखो’ भनेझैँ भयो सहमति जनाएँ। त्यसदिन हामी दिनभरि त्यही घरमा गफ गरेर बस्यौँ। उहाँका बुबा आठ नौ वर्ष अगाडि नै क्यान्सर रोगकै कारणले बित्नुभएको रहेछ। एकजना दिदीको विवाह भै सकेको रहेछ, दाइ आजभन्दा छ वर्ष अगाडि विदेश जानुभएको आजसम्म खोजी खबर छैन। आमा पनि बितेपछि उहाँ एक्लै हुनुभएछ र एक्लोपनको महसुस गरेर मलाई विवाहको प्रस्ताव राख्नुभयो।

म पनि धनकुटादेखि यहाँ पढ्न बसेकी आमाबुबाको स्वीकृति चाहिन्छ भने, अनि उहाँले ‘आमावुबाभन्दा पहिले तिम्रो स्वीकृति चाहियो नि त’ भन्नुभयो। आमाबुबाको स्वीकृति पाएपछि मन्दिरमा विवाह गरेका हौँ। पछि थाहा भयो उषा भनेकी उहाँकी पूर्व प्रेमिका रहिछिन्। यस उषा किरण उपन्यासमा उनकी प्रेमिका उषाको सम्पूर्ण कथा भेट्न सकिन्छ र सुयोगको किरणमा। “अनि उषा जी अहिले कहाँ हुनुहुन्छ, किन सफल भएन उहाँहरूको प्रेम?” “उषा सम्पन्न परिवारमा जम्मिएकी रहिछिन्, बाह्र पास गरेपछि उनी काठमाडौ पढ्न् गइन रे र उतै धनी केटासँग विवाह भयो रे सुयोग मनको धनी भएपनि धनको गरिब हुनुहुन्थ्यो। यस्तै हुन्छ सुहानी त्यही भएर विवाह गर्दा वा प्रेम गर्दा तन, मन, धन पनि मिल्नुपर्छ। आँखा जुधेको भरमा प्रेम गर्नु राम्रो होईन। वहाँका धेरै रचनाहरूमा उषा भन्ने पात्र भेट्न सकिन्छ। उहाँ उषाको तस्वीर हेरेर घण्टौँ टोलाउनुहुन्छ, मुस्कुराउनुहुन्छ, चुम्नुहुन्छ।

उनले दिएका प्रत्येक उपहारहरू संहालेर राख्नुभएको छ। सुयोगकी सिर्जनाकी खानी हुन् उषा। सायद उषासँग मिलन भएको भए आज वहाँ साहित्यकार बन्नु हुने थिएन होला।” सीता आन्टीले त्यसो भनिरहँदा मलाई त्यसो भए के सुयोग प्रेमिकाले धोका दिएरै साहित्यकार बनेका हुन् त? भन्ने खुल्दुली भईरहेको थियो। यो कुरा लक्ष्मी प्रसाद देवकोटा, भूपि शेरचन, पारीजात र वैरागी काँइला जस्ता साहित्यकारहरूले सुने भने के भन्लान् जस्तो लाग्यो। सीता आन्टीले गरेका कतिपय कुराहरू चित्त बुझेकै थिएनन् तर विद्रोह गर्दा कुरा खोल्दिनन् कि भन्ने डरले सबै कुरा चुपचाप सुनिरहेँ। “अनि आन्टी, तपाईहरूको आम्दानीको स्रोत चाहीँ के हो त?” “खास केही छैन, आमाले धेरै दुःख गरेर अलिकति पैसा जम्मा गरिदिनुभएको रहेछ त्यही पैसा ब्याजमा लगाएका छौँ अनि एउटा गाई छ, दूध बेच्छौँ, कोठाभाडा यस्तै–यस्तै हो।

सामान्य रुपले दुईजना त बाँचेका छौँ तर भावी सन्तानको भविष्य अहिलेको महङ्गी, विज्ञान र प्रविधिमा देखा परेका नयाँ–नयाँ ज्ञान, अहिलेको आधुनिक युगमा कसरी सामञ्जस्य गराउने हो चिन्ता लाग्छ।” “आन्टी मलाई त तपाईलाई अंकले कति धेरै माया गर्नुहुन्छ भन्ने लागेको थियो।” “प्रेम गर्नुहुन्न भनेको कहाँ हो र? उहाँले मलाई अक्षरमा, शब्दमा र भावनामा प्रेम गर्नुहुन्छ तर यर्थाथ र व्यवहारमा होईन। उहाँलाई म यसरी हुँदैन अब केही व्यवसाय गर्नुपर्छ, अलिक व्यवहारिक बन्न सिक्नुहोस् भनेर गन्गन् गरिरहन्छु उहाँ मात्र मुस्कुराउनु हुन्छ।”

बाहिर पानी पर्न रोकिइसकेको थियो। साँझ पर्न थालिसकेको थियो। गाई बाँ–बाँ गरेर कराउन थाल्यो। सीता आन्टीले अंकल पनि भोलिमात्रै आउनुहुन्छ। यही खाना खाऊँ, पानी भरेर सब्जी केलाउँदै गर म गाईलाई घाँसपानी गरेर आउँछु भनेर गोठतिर लाग्नुभयो। म पानी भर्नलाई बाल्टिन लिएर यसो बाहिर के निस्केकी थिएँ पर बाटामा सुयोग पत्थरलाई आउँदै गरेको देखेँ। बाल्टिन त्यही राखेर कुदेर सीता आन्टी भएको ठाँउमा गएँ र आन्टी, अंकल आउँदै हुनुहुन्छ म गएँ है भनेर आफ्नै कोठातिर कुदेँ। बेलुका सुत्ने बेलामा झट्ट सम्झेँ सुयोग पत्थरको उषा किरण उपन्यास ल्याएर पढ्छु भन्दै थिएँ हत्तारमा कुदेकाले ल्याउनै बिर्सिएछु। राती भईसकेको थियो जान पनि अप्ठ्यारो लाग्यो। त्यहाँ उषा र किरणको कस्तो कथा थियो त पढ्न एकदमै खुल्दुली भईरह्यो।

भोलिपल्टदेखि मेरो व्यस्तता सुरु भै हाल्यो। बेलुकामात्र भेट हुन्थ्यो सीता आन्टीसँग। सुयोग पत्थरलाई पनि सधैँको भन्दा अलिक बढी नै घरमा बसेको देख्थेँ। सुयोग अंकल हुँदा त्यति त्यहाँ जान्न थिएँ। 

अचानक दुई महिने शिक्षण तालिम लिनका लागि म इनरुवा जानुपर्ने भयो। सीता आन्टीलाई भन्ने मौकै पाईन। भोलिपल्ट बिहानै जानुपर्ने राती मैले सीता आन्टीलाई मोवाइलमा म्यासेज पठाएँ–“आन्टी म भोलि बिहानै स्कूलबाट दुई महिने शिक्षण तालिमको लागि इनरुवा जाँदैछु। तपाईंलाई दुई महिना छोड्नुपर्दा कुनै महत्वपूर्ण चिज छुटेजस्तै लागिरहेको छ। स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला म चाँडै फर्किनेछु।” उताबाट रिप्लाई आयो–“सुहानी तिमीसँग मजाले गफ गर्न नपाएको पनि कतिन्जेल भएको थियो। राम्रोसँग ट्रेनिङ पूरा गरेर आऊ अनि धेरै गफ गरौंला।

इनरुवाको दुई महिने बसाई निकै कष्टप्रद बित्यो। शुक्रबारको दिन साँझमा कोठामा आईपुगेँ। धेरै थकाई लागेको महसुस भयो। खाना पनि खाईन। चिया र बिस्कुट खाएर बेलैमा सुतेँ। भोलिपल्ट शनिबार धेरैदिन अघिदेखिका मैला लुगा कपडाहरू धोएँ, कोठा सफा गरेँ, खाना बनाएर खाएँ र सीता आन्टीकहाँ गएँ। सीता आन्टीको लागि मैले इनरुवादेखि एउटा बाला र पोते ल्याईदिएकी थिएँ। साह्रै खुसी भएर लगाईराखेको पोते फुकाल्नुभयो र मैले ल्याईदिएकै लगाउनुभयो। स्वास्थ्यको बारेमा सोधेँ। “हस्पिटल जादै हुनुहुन्छ त आन्टी?” “नगएको पनि दुई/तीन महिना भईसक्यो आज जाने सल्लाह गरेका छौँ।” “आजकल त अंकललाई पनि घरमै देख्छु नि, निकै माया गर्न थाल्नुभयो कि के हो?” “पहिला भन्दा बढी नै घरमा बस्नुहुन्छ, सबै कामहरू सघाउनुहुन्छ, विशेष ध्यान पुर्‍याउनुहुन्छ। आउने सन्तानको लागि साह्रै खुसी हुनुहुन्छ उहाँ। चोकतिर जानुभएको छ आईहाल्छु भन्नुहुन्थ्यो किन ढिला गर्नुभएको हो?” “फोन गरिहेर्नु नि आन्टी।” “तीन पटक भो ल ल आईपुगिहालेँ भनेको।” “त्यसो भए म पनि फुर्सद नै छु जाऊँ न त आन्टी।” त्यसपछि हामी हस्पिटल गयौँ।

त्यसदिन हस्पिटलमा प्रमुख डाक्टर आएको रहेनछ। प्रशिक्षणमा आएका सिस्टरहरूले सामान्य परीक्षण गरेर अट्ठाईस गतेको डेट दिए। अठार दिनमात्र बाँकी थियो सीता आन्टी आमा बन्नलाई। हामी हस्पिटलबाट फर्कदै गर्दा सुयोग अकलले कहाँ छौ भनेर फोन गर्नुभयो। सीता आन्टीले म त सुहानीसँग हस्पिटल पुगिवरी फर्किदैछु भन्नुभयो। “के भन्यो त सीता डक्टरले?” “ठीकै छ रे अट्ठाईस गतेलाई डेट दिएको छ।” “सीता तेह्र गते सिलगुडीमा एउटा राम्रो साहित्यिक कार्यक्रम रहेछ। म जसरी पनि जानुपर्र्र्नेभयो। आज काँकडभिता गएर बस्छु र भोलि सिलगुडी पुग्छु। तिमी चिन्ता नगर म चौध गते जसरी पनि आईपुग्छु। आउँदा बैँकबाट अलिकति पैसा पनि निकालेर ल्याउँछु। केही साह्रो गाह्रो परे सुहानीसँग मद्दत लिनु है।” सीता आन्टीले हुन्छ भन्नुभयो।

हामी घर पुग्दा सुयोग पत्थर हिँडिसकेका रहेछन्। सीता आन्टीले आज यही बसौं भन्ने अनुरोध गर्नुभयो। मैले पनि ठीकै छ आज त शनिबार हो बस्छु भोलिदेखि त भ्याउँदिन है भने। राती अबेरसम्म सुयोग कै बारेमा गफ गर्‍यौं। हिजो–आज निक्कै व्यवहारिक बन्नुभएको छ। ‘अब बैंकमा राखेको पैसा निकालेर सानो व्यवसाय चलाउनुपर्छ भन्नुभएको छ’, भन्दै हुनुहुन्थ्यो सीता आन्टी। गफ गर्दागर्दै कति बेला निदाएछौं पत्तै भएन। बिहान पाँच बजे पत्थरले फोन गरेर “सीता म काँकडभिताबाट हिँड्न लागेको अब मोबाइल स्वीच अफ हुन्छ। म चौध गते फर्किहाल्छु त्यतिन्जेल समयमै खाने सुत्ने गर्नु है” भने। 

बाह्र गते स्कुलमा मिटिङ थियो। साँझ छ बजे मात्रै कोठामा आइपुगें। परीक्षाको प्रश्नपत्रहरू टाइप गर्नु थियो बेलैमा खाना खाएर कम्प्यूटरमा बसेंं। बाह्र बजेसम्म टाइप गरेर सुतें। थकित भएर होला एकैचोटी बिहान पाँच तीस बजेमात्र ब्यूँझिएँ। ब्यूँझिने बित्तिकै सिरानीमा राखेको मोबाइल यसो तानेर हेर्छु त सीता आन्टीको छ वटा मिस्कल आएको रहेछ। यति धेरै मिस्कल त कहिल्यै गर्नुहुन्न थियो ‘बा केही पो भयो कि?’ भनेर जुरुक्कै उठें र हतारिदै कुदें। त्यहाँ पुग्दा सीता आन्टी हल न चल भएर बेहोस हुनुभएको रहेछ। वहाँलाई राती कतिबेला देखि रक्तस्राप भएछ। म त्यहाँ पुग्दा अन्तिम अवस्थामा पुगिसक्नुभएको रहेछ। मैले अतालिँदै म बसेको घरका घरबेटीलाई बोलाएँ। उनीहरूले हल्ला–खल्ला गरेपछि निक्कै मान्छे जम्मा भए।

अब कहाँ लाने, खर्च कस्ले निकाल्ने भन्ने कुरामा मानिसहरू अलमल्लिरहेका थिए। त्यतिबेलै मसँग पनि पैसा थिएन, दुई तीनदिन अघिमात्र कोठाभाडा तिरेकी थिएँ। मैले जसरी पनि सीता आन्टीलाई बचाउनु थियो। एम्बुलेन्स् बोलाएर ‘अस्पताल लाने तयारी गर्दैगर्नु होला पैसाको जिम्मेवारी म लिन्छु’ भनंे। त्यसपछि म पैसाका लागि साइकलमा चढेर धेरै जनाको ढोका ढक्ढक्याउन पुगें, कहीँ काम नभएपछि निराश भएर फर्किंदै थिएँ, सुबास सरसँग भेट भयो। वहाँलाई मैले दशहजारले साह्रै खाँचो परेर त्यसकै खोजीमा हिँडेकी भने। सरले थपक्कै निकालेर दिनुभयो। म रफ्तारमा हानिएँ कोठातिर। म त्यहाँ आइपुग्दा सीता आन्टीले अघि नै संसार छोडिसक्नुभएछ। त्यहाँदेखि म पागल जस्तै भएछु न रोएँ, न हाँसें। पछाडिबाट कसैले भन्दै थियो ‘सुहानी सुयोगलाई सम्पर्क गर्दै गर है चाँडै खबर पुगोस्।’ हुन्छ त भनें तर म लाटी जस्तै भएकी थिएँ। म पनि घाटतिर लागें।

मानिसहरू चिता तयार पार्दै थिए। बगरमा एक्कासी मेरो खुट्टा ठोकियो, झसंग भएर यसो हेर्छु खुट्टामा चप्पल थिएन, कपाल पनि कोरेकी थिइन। त्यसबेला पो आँखाबाट बरर्र आँशु खसे। अलिक परतिर गएर एक्लै बसें र मनमनै भनें ‘सीता आन्टी तपाईं सीता भएर जन्मनु भयो, सुयोगकी श्रीमती हुनुभयो, पत्थरकी पत्नी भएर बाँच्नुभयो र बेसहारा भएर मर्नुभयो। पत्थर, पत्थर नै हो आन्टी।’ यहाँ भन्दा बढी अरु केही सोच्न सकिन। सीता आन्टीलाई चितामा हालियो। यसबारे सुयोग पत्थरलाई केही थाहा थिएन। फोन स्वीच अफ थियो। जुनबेला सीता आन्टी आफ्नो सन्तान सहित चितामा जलिरहनु भएको थियो त्यहीबेला सुयोग पत्थर आफ्नो भावी सन्तानको कल्पनाले रातभर निद्रा नलागेर आफ्नै सन्तानको लागि लेखेको ‘मेरो छायाँ’ शीर्षकको कविता सिलिगुडीमा वाचन गरिरहेका थिए।

प्रकाशित मिति: May 23, 2020 16:52:27

प्रतिक्रिया दिनुहोस