अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता

फोटो क्याप्सनः मृतक नवराज बिक र टीकाराम सुनार (बाँयाबाट)।

काठमाडौं। नेपालमा जातका आधारमा गरिने विभेद कानूनी रूपमै दण्डनीय छ।

देश छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १३ वर्ष भइसकेको छ। अहिले जातीय छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ लागू छ।

तर, अहिले पनि जातीय विभेदका नाममा हुने घटना रोकिएका छैनन्। समाजमा खासगरी ‘दलित’ र गरैदलितबीच हुने वैवाहिक सम्बन्धलाई अझै पनि अपवादबाहेक स्वीकार गरिँदैन। र, जातीय छुवाछुतका नाममा गम्भीर आपराधिक घटना समेत हुने गरेका छन्।

यसैको पछिल्लो रूप हो १० जेठ बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा भएको घटना। जहाँ अन्तरजातीय विवाहको विषयलाई क्रुर घटना भयो। जसका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् भने चार जना बेपत्ता छन्।

के हो घटना ?

प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारी अुनसार जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना १७ जना साथीसहित १० जेठ बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँ पुग्छन्। त्यहाँ उनकी मल्ल थरकी १७ वर्षीया प्रेमिकाको घर छ। र, नवराजलाई ‘आफूलाई भगाएर लैजान’ भनेर उनैले बोलाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठका अनुसार नवराजले आफ्ना साथीहरूलाई ‘केटी भगाउन’ जाने भन्दै फोन गरेर बोलाएका थिए। त्यसपछि नवराजसहित जाजरकोटबाट १८ जना युवा सोती पुगे। नवराज यसअघि पनि पटकपटक केटीको घर पुगेर आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

तर, यसपटक नवराजले न ‘केटी भगाउन’ पाए, न आफू सकुशल फर्किन पाए। केटीका आफन्त र गाउँलेले लखेटेपछि भाग्दै गर्दा भेरी नदीमा हेलिएका नवराजको मृत्यु भयो। उनको शव जाजरकोटको भेरी नगरपालिका-४ धल्लास्थित भेरी नदी किनारमा १० जेठ राति भेटिएको थियो।

उनीसँगै भेरीमा हाम्फालेका चौरजहारी नगरपालिका-१, का टीकाराम सुनारको पनि ११ जेठ साँझ शव भेटिएको छ। भेरी नगरपालिका-४ का गणेश विक, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही, र सन्दीप विक भने अहिलेसम्म सम्पर्कविहीन छन्।नवराजसँगै गएका बाँकी १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, चौरजहारीको जिम्मा लगाएका थिए।

प्रकाशित मिति: : 2020-05-25 14:04:42

प्रतिकृया दिनुहोस्