भारत–चीन सीमा विवादबारे ट्रम्प भन्छन्: मध्यस्थता गरिदिन तयार छु

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्‍याएका प छन्। 

भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो। बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु। म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु।’

गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए। उनले  सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको पनि टिप्पणी गरेका छन्।

ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ। दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन। शायद चीन पनि खुसी छैन होला। चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन।’

ट्रम्पको मध्यस्थताको प्रस्तावबारे चिनियाँ विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया आइसकेको छैन। तर, चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनलाई मध्यस्थताको आवश्यकता छैन।

बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्रम्पको मध्यस्थताको प्रस्तावमा कूटनीतिक जवाफ दिएका छन्। उनले सीमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि चीनसँग कुराकानी भइरहेको बताए। उनले भनेका छन्, ‘हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कमा छौं।’

प्रकाशित मिति: : 2020-05-29 07:02:55

प्रतिकृया दिनुहोस्