लकडाउन, संग्लिएको धर्ती र सुनको कचौरामा भीख

आधा विश्व लकडाउनमा छ। तर धरती भने वातावरण विरुद्ध मानव श्रृजित समस्याबाट मुक्त भएका बेला अलिकति भए पनि संग्लिएको अनुभव बैज्ञानिकहरुले गरेका छन्।

मानौं लकडाउनले पृथ्वीले पनि स्वच्छ सास लिन पाएको छ तर यो मानिसले नै  बिगारेको वतावरणका लागि यथेष्ट भने हैन। मुलुक पनि शुक्रबार अनौपचारीक रूपमा वातावरण दिवश मनाउँदैछ तर  वातावरण संरक्षण अहिले सम्मका कुनै पनि सरकारको प्राथमिकतामा परेको भने  छैन।

लकडाउनकै कारण यसपाली गत नोभेम्बरमा स्कटल्याण्डको ग्ल्यास्कोमा हुने भनिएको संयुक्त राष्ट्र संघीय २६औं वातावरणीय सम्मेलन (कोप २६–कन्फ्रेन्स अफ पार्टीज) पनि रोकियो। सुरक्षित जीवनका लागि जैविक विविधतता (टाईम फर नेचर) यो यसपालीको संयुक्त राष्ट्र संघीय नारा हो। कोरोनाले वास्तवमै यो सिकायो विश्वलाई कि, प्रकृति संरक्षणका लागि समय दिनुपर्ने रहेछ।

विस्कन्सीन म्याडिसन विश्व विद्यालयका वातावरणीय वैज्ञानिक एन्ड्रेय डटन  नेशलन ज्योगराफिकलाई भन्छन् ‘मानिसले गर्ने गरेका क्रियाकलाप घटेकाले यतिबेला कार्बन उत्सर्जनमा कमी देखिएको छ र पनि यो यथेष्ट होइन।

विश्व वातावरण दिवसमा निर्वासित तिब्बति धर्मगुरू दलाई लामाले ‘ट्वीट’ गरेका छन्, ‘विश्वव्यापी उत्तरदायीत्व र हामी प्रत्येकमा एक उचित आन्तरिक वातावरणले हाम्रो साझा आमा, धरतीको संरक्षण र संरक्षणमा योगदान पुर्‍याउँछ। जीवनको अस्तित्व सुनिश्चित गर्न हामी जान्दछौ, यसको विविधता, सौन्दर्य र स्थिरतामा।’

डिस्कभरी च्यानललाई ईतिहासकार डेभिज किइजका भन्छन्, ‘वातावरणमा जलवायु परिवर्तनको असर सबै भन्दा धेरै विकसित समाजमानै पर्ने छ। जहाँ जति विकास हुने छ त्यहाँ त्यतिनै असर गर्ने छ।’  अर्कां वैज्ञानिक रिचर्ड ऐलीका अनुसार मौसम भन्ने कुरा विस्तारै परिवर्तन हुन्छ तर कहिले अचानक पनि हुन सक्छ, भन्न सकिन्न।

विश्व अहिले स्थिर जलवायुको मजा लिँदैछ, तर कुनै बेला पनि हिम युग नआउला भन्न सकिन्नँ।

२० औं शताब्दीको उत्तरार्ध र २१ औं शताब्दीको पूर्वाद्धमा हरितगृह ग्यासको बढ्दो उत्सर्जनका कारण सिर्जित समस्या अहिले विकराल रूपमा विश्वका सामु छन्।

Here's how Mt. Everest is visible from Kathmandu valley on an extremely clear weather. (Google Earth referencing) @KanakManiDixit @kundadixit @NepaliTimes @Himal_Khabar pic.twitter.com/o1S1zSN1t3

— Abhushan Gautam (@AbhushanGautam) May 15, 2020

जलवायु परिवर्तनबाट धनी–गरिब सबै राष्ट्रहरू प्रभावित छन्। वातावरण विनासका चुनौतीलाई सम्बोधन गर्न सन् १९७२ मा स्वीडेनको स्टकहोल्ममा सम्पन्न मानवीय वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा उठाइएका वन विनाश, अम्लीय वर्षा, बाढी–पहिरो, भू–क्षय जस्ता वातावरणीय समस्या देखा परे पछि यसबारे सबैको ध्यान तान्न वातावरण दिवस मनाउन थालिएको हो।

वैज्ञानिकहरूले सन् १९७० का दशकदेखि जलवायु परिवर्तनमा अनुगमन गर्दै आएका छन्। सन् १९७५ देखि २००६ सम्म नेपालको तथ्यााङ्क हेर्दा औसतमा १ दशमलब ८ डिग्री सेल्सियस तापक्रम बढेको पाइएको छ।

अहिले जलवायु परिवर्तन विश्वकै सर्वाधिक चासोको विषय हो। अहिले मुलुक भित्र पनि यसका असर देखिन थालेका छन्। जलवायु परिवर्तनले मुख्य गरेर ग्रामिण महिला, शहरी क्षेत्रका गरिब तथा सामान्य जनतामा माथि प्रतिकुल प्रभाव बढ्दै जाने मानिन्छ। यसले गरिबी बढ्दै जाने र द्वन्द्व निम्तीने खतरालाई पनि नकार्न सकिन्न।

ऋगवेदमा पञ्चतत्व आकाश, जल, वायु, तेज र पृथ्वीको चर्चा छ। यीनका अभावमा सृष्टि रहन्न। प्रकृतिका नियमहरु यिनैका आधारमा क्रियाशिल रहन्छन्। पञ्च तत्वलाई आधुनिक विज्ञानले भौतिक र जैविक वातावरण सन्तुलनका लागि महत्वपूर्ण मानेको छ।

आधुनिक युगमा मानवले प्रयोग गरिरहेका कल कारखाना, यातायात, धुँवा, फोहोर जस्ता कुराले प्राकृतिक संरचनामा असन्तुलन पैदा भई जल वायु तिव्र रुपमा परिवर्तन हुदै गईरहेको छ।

पछिल्ला केही वर्षमा जल वायु परिवर्तनले गर्दा मुलुकमा दिन र रात दुबै बढी ताता भइरहेका, चिसा दिन रात कम हुदै गइरहेका, सय मिलिलिटर भन्दा बढी परिणाममा पानी पर्ने दिनहरुको संख्या बढदै गइरहेको र पानी पर्ने अवधिमा परिवर्तन भइरहेको महसुस गरिएको छ भने सबै भन्दा ठूलो प्रभाव नेपालका हिम नदीहरुमा परिरहेको वातावरणविद्वले इङ्गित गरेका छन्।

जलवायु परिवर्तनले ल्याएका र भविष्यमा पर्न सक्ने सम्भावित नकारात्मक प्रभावको रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई राट्रिय जलवायु नीति गत वर्ष बनाएर सकेको छ।

जलवायुको लेखाजोखा गर्न तीस वर्षको अवधि उपयुक्त मानिन्छ। तिव्र रुपमा मानव सृजित विकास क्रियाकलापले वायु मण्डलमा नकारात्मक प्रभाव परेको र जलवायु परिवर्तन हुन लागेको मानिन्छ। जसमा वायु मण्डलमा हरित ग्यास उत्सर्जनको परिणाम अधिक जिम्मेवार रहेको मानिन्छ। वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सीजन र १ प्रतिशत अन्य ग्याँस रहेको छ। वायु मण्डल हुदै सौर्य उर्जाको ७० प्रतिशत ताप मात्र पृथ्वीमा आइपुग्छ भने ३० प्रतिशत बीचैबाट पत्र्यावर्तित अन्तरिक्षमा फर्किएर जान्छ।

कार्वनडाइअक्साईड, नाइट्रस अक्साइड, ओजोन, मिथेन, ह्यालोकार्वन आदिलाइृ हरितगृह ग्यास मानिन्छ। यसको मात्रा जति धेरै भयो, उति नै पृथ्वीबाट प्रत्यावर्तित ताप रोकिइ पृथ्वीमा तापक्रम बढ्छ।

विकास र युद्वका विभिन्न क्रियाकलापले विश्वमा हरितको ग्यासको उत्सर्जनमा बृद्धि भइरहेको देखिन समेत लागेको छ।

सन् १९७० का दशकदेखि अनुगमन गर्न लागिएको जलवायु परिवर्तनको विषय वैज्ञानिकहरुका बीच ठाउँ र मात्रामा मतान्तर भएपनि सबै जना विश्वव्यापी जलवायु परिवर्तनका विषयमा एकमत छन्।

सन् १८६० यता आएर भुमण्डलिय तहको तापक्रम १९९० को दशकमा सबै भन्दा उच्च तापक्रम रह्यो भने सन् २००५ सर्वाधिक तापक्रमको वर्ष रह्यो। सन् १९०६ देखिका सय वर्ष अर्थात २००५ मा पृथ्वीको औषत तापक्रम ० दशमलव७४ डिग्री सेल्सियसले बद्धि भयो। पृथ्वीको सतहको तापक्रम सन् २१०० भित्र एक १ दशमलव ८ डिग्रीदेखि ४ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ। गत ३० वर्षको तथ्याङ्कमा मुलुकको औसत तापक्रम ० दशमलव ०६ डिग्री सेल्सियसले बढिरहेको पाइएको छ। विश्व जनसंख्याको ० दशमलव ४ प्रतिशत मानिस बस्ने नेपालबाट ० दशमलव ०२५ प्रतिशत हरित गृह ग्यास उत्सर्जित हुन्छ। सन् १९७५ देखि २००६ सम्म नेपालको तथ्यााङ्क हेर्दा औसतमा १ दशमलव ८ डिग्री सेल्सियस तापक्रम बढेको पाइएको छ। बढ्दो तापक्रमकै कारण सन् २१०० भित्र समुद्री सतह ३० सेण्टिमिटरसम्म बढ्ने अनुमान बैज्ञानिकले गरेका छन्। 

जलवायु परिवर्तनबाट मुलुकको अर्थतन्त्र समेत प्रभावित हुने मानिएको छ। तिव्र आधिबेहरी, बाढीपहिरो, खडेरी र अनिकाल जस्ता प्राकृतिक प्रकोपबाट नेपाल सजिलै प्रभावित हुनसक्ने छ। जलवायु परिवर्तनले मुख्यतया नेपालका कृषी, वन, जलस्रोत, स्वास्थ्य, प्राकृतिक क्षेत्र तथा र्जैविक विविधतामा असर पार्ने विज्ञहरुले मानेका छन्।

दुई तिहाई भन्दा बढी जनसंख्या कृषीमा निर्भर रहेको हाम्रो मुलुकका कृषकहरु मौसमी वर्षा र पम्परागत कृषिमा भर पर्छन्। वर्षा चक्रमा हेरफेर, खडेरी र अत्यधिक बर्षाले यसमा अवरोध गर्न सक्ने छ। पाँच दशक अघि प्रमुख अन्न उत्पादनमा दक्षिण एसियामै अग्रणी रहेको नेपाल अहिले सबै भन्दा थोरै अन्न उत्पादन गर्ने देश भएको छ।

नेपालबाट वर्षेनी बगेर जाने २ सय २५ अर्ब घनमिटर जलबाट भारतीय महाद्विपका २० करोड मानिसलाई पानीको आपुर्ति हुन्छ। उच्च तापक्रम र हिउ पग्लिने बृद्धि भएमा यसले धेरै जसो कुरामा प्रभाव पार्ने छ। विश्वका ३० प्रतिशत हिम नदी नेपालमा छन्। मुलुकको ५ हजार ३ सय २३ वर्गकिमि भाग २ हजार २ सय ५२ वटा हिम नदीहरुले ओगटेको छ। जानकारीमा रहेका २ हजार ३ सय २३ हिम तालले ७५दशमलव ७ वर्गकिमी भाग ओगटेको छ। यहाँका हिम नदीहरु ३० सेण्टिमिटरदेखि १ मिटरसम्म वार्षिक रुपमा पातलिदै छन् भने १० देखि २० मिटरसम्म पछि सरेको सर्वेक्षणले देखाएको छ र हिमतालको आकार बर्षेनी बढ्दै छ भने नयाँ हिमताल समेत सृजना हुदैछन्। यि हिमतालमा जल चाप बृद्धि भई फुट्ने खतरा बढ्दो छ। च्छोरोल्पा, थुलागी, बरुण, इम्जा, गंगापूर्ण हिमतालहरु खतरामा रहेका छन्।

३८ प्रतिशत भुभाग बनले ओगटेको हाम्रो मुलुकमा हरित गृह ग्याँसको सन्तुलन मिलाउन बन संरक्षण गर्न अत्यन्त जरुरी छ। सन् १९५० यता मानवहरुका कारण मुलुकको बन पैदावारमा ह्रास आउने क्रम रोकिएको छैन। राजनैतिक चाहनामा  राम्रो वन भएका जिल्लामा सरुवाको दौड मुलूकमा निरन्तर जारी छ संरनक्षण गर्न हैन कसरी काटने भनेर।

जलवायुमै आएका परिवर्तनका कारण औलो रोगमा बृद्धि भएको छ। जापानिज ईन्सेप्mलाईटिसलाई पनि यसैसंग जोडिएको छ। अर्थात जलवायु परिवर्तनले हानीकारक जीवहरुलाई प्रसय गर्ने वातावरण मिलाई मानिससंगै घर पालुवा बन्यजन्तुमा समेत नकारात्मक असर बढ्दै गएको छ।

प्राकृतिक जैविक प्रयोगशालाको रुपमा चिनिने नेपाल आफ्नो जैविक विविधताका कारण विश्वमा परिचित छ तर मुलूकले यो सुन हो भनेर अहिले सम्म चिन्ने र संरक्षण गर्न सक्ने नेतृत्व पाएको छैन।

जल वायुले प्रजातिको वितरण, पारिस्थितिकीय प्रणाली (ईको सिस्टम) र वनस्पतीको विविधता निर्धारण गर्दछ। जलवायुमा हुने कुनै परिवर्तनले यसको वितरणमा हेर फेर ल्याउन सक्ने छ। यो प्रकृयालाई मानविय उपस्थित र अन्य अवरोधले प्रभाव पार्ने छन् जसका कारण कुनै प्रजाति र पारिस्थितिकीय प्राणली लोप हुन सक्ने छ। बढ्दो वन विनासले बिकराल रुप लिएको छ। जसका कारण बाघ, गैडा, हात्ती जस्ता प्रजातिहरु बासस्थान विनास तथा परिवर्तनबाट संकटमा पर्दै गइरहेका छन्।

जैविक विविधताको खानी मुलूकको अवस्था भने सुनको कचौरामा भिख माग्दै हिडेको जस्तो छ। सबै कुरा छ तर वातावरण सरकारको प्राथमिकतामा कहिल्यै पर्दैन वातावरण मन्त्रालयको महत्व सबै भन्दा थोरै दिईदै आएको अभ्यास छ। वन सँग प्रत्यक्ष सरोकार रहेको वातावरण मन्त्रालय पटक पटक भागवण्डाका कारण फुटदै र जुटदै अनि फुटदै आएको छ।

यदि बचेको वन मात्रै प्राथमिकतामा राखेर संरक्षण मात्रै गर्ने हो भने आउने सन्ततिका लागि वरदान हुनेछ। कान नचिरेका जोगी नआए सम्म यो सम्भव छैन।

प्रकाशित मिति: : 2020-06-05 17:21:07

प्रतिकृया दिनुहोस्